२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

श्रीमतीको नागरिकता कीर्ते गरी बृद्ध भत्ता कुम्ल्याउने एमाले नेता भ्रष्टाचारी ठहर, वडा अध्यक्ष पद चट

३० भदौ, काठमाडौँ । विशेष अदालतले श्रीमतीको नागरिकता कीर्ते गरी बृद्ध भत्ता कुम्ल्याउने नेकपा (एमाले)का एक नेताला नेतालाई भ्रष्टाचारी ठहर गरेको छ । आइतबार विशेष अदातलका अध्यक्ष टेकनाराण कुँवर र सदस्य रितेन्द्र थापाको संयुक्त इजलाशले नागरिकता कीर्ते गरी श्रीमतिको नाममा बृद्ध भत्ता कुम्ल्याउने मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष तुलाराम लुइँटेललाई भ्रष्टाचारी ठहर गरी कैद र जरिवानाको सजाय सुनाएको छ ।

विशेषले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ९ र दफा १७ बमोजिम ९ महिना कैद र जरिवाना तोकेको छ । नागरिकता लगायतका सरकारी कागजात सच्याइ सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ साल जेठ ३२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

विशेषले नौ महिना कैद र एक लाख ७० हजार रूपैयाँ जरिवाना तोकेको छ। भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ९ अनुसार १० हजार रुपैयाँ जरिवाना र ३ महिना कैद तथा सोही ऐनको दफा १७ को व्यवस्था अनुसार थप १ लाख ६० हजार रुपैयाँ जरिवाना र थप ६ महिना कैद सजाय सुनाइएको छ।

पहिलो कार्यकाल वडा अध्यक्ष हुँदा नै लुइँटेलले २०७५ सालमा श्रीमती भक्तकुमारी लुइँटेलको नागरिकता प्रतिलिपिको विवरण किर्ते गरी सामाजिक सुरक्षा भत्ता वापतको रकम लिएका थिए ।

विशेषले सोही प्रकृतिको मुद्दामा रतुवामाई नगरपालिका वडा नं। ६ बस्ने एमालेकै स्थानीय नेता मेघदीप पोखरेलाई पनि भ्रष्टाचारी ठहर गरेको छ । पोखरेलले जेठी श्रीमती तुलसा देवीको नागरिकताको प्रथम प्रतिलिपिको फोटोकपीमा जन्ममिति सच्याइ बृद्ध भत्ता कुम्ल्याएका थिए ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आईतवार २२:२८