१ मंसिर २०८१, शनिबार | Sun Nov 17 2024

शैलेन्द्र अधिकारीको ‘अर्हत’ सार्वजनिक

३० भदाै, काठमाडाैँ । बौद्धदर्शनमा आधारित उक्त उपन्यास अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष धम्मशोभन महास्थवीर, पत्रकार उमेश चौहान, साहित्यका नवराज लम्साल, भिक्षुमहासंघका सचिव निग्रोध भन्ते, अग्रज्ञानी गुरुमा, शिखाबुक्स्का प्रबन्धक पुष्पराज पौडेल, पब्लिक क्याम्पस संघ नेपालका महासचिव गोबिन्दबहादुर कार्की तथा लेखकले संयुक्त रुपमा विमोचन गर्नुभयो ।

उपन्यासकारलाई शुभकामना दिँदै निग्रोध भन्तेले बुद्ध जन्मेको देशमा बुद्धसम्बन्धी लेखन तथा अनुसन्धान कम भइरहेको, राज्यका भाषा साहित्य संस्कृतिसम्बन्धी निकायहरुले बेवास्ता गरिरहेको अवस्थामा लेखक शैलेन्द्र अधिकारीद्वारा बुद्धजीवनीमा आधारित उपन्यास लेखिनु सुखद कुरा भएको बताउनु भयो ।

किताबको समीक्षा गर्दै उमेश चौहानले बुद्ध आध्यात्मिक व्यक्तित्व त हुन् नै उनको प्रभाव राजनीतिमा झन बढी रहेको बताउनुभयो । बुद्धको सहअस्तित्वको अवधारणाले नेपाली राजनीति प्रभावित हुनुपर्ने उहाँको तर्क थियो । यस दिशातर्फ प्रेरित गर्न अर्हत् उपन्यासमा प्रशस्त गुणहरु रहेको कुरा उहाँले बताउनुभयो ।

अर्का समीक्षक साहित्यकार नवराज लम्सालले पूर्वीय ज्ञान परम्परा अत्यन्त समृद्ध रहेको र त्यस परम्पराको आदरणीय महामानव बुद्ध रहेको धारण राख्नुभयो । सांख्य दर्शन जहाँ पुगेर रोकिन्छ त्यहीँबाट बुद्धले ज्ञानको नयाँ क्षितिज उघारेको कुरालाई उपन्यासकारले उपन्यासको वैचरिक विषय बनाएको कुरा बताउनुभयो ।

शिखा बुक्स्ले बजारमा ल्याएको उक्त उपन्यास हार्डकभर र सफ्टकभरमा उपलब्ध छन् । उपन्यासकार शैलेन्द्र अधिकारीका निर्वेद उपन्यास र बह्मास्त्र कथासंग्रह यसअघि नै प्रकाशित भइसकेका छन् ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आईतवार १०:४५