१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

छिमेक लघुवित्तमा जोशी परिवारको हालिमुहाली, कराेडाैँ रकम गैरसरकारी संस्थामा सारी भ्रष्टाचार

४ पुस, काठमाडाैँ । छिमेक लघुवित्त वित्तिय संस्थामा प्रमुख कार्यकारी अधिकृत रामचन्द्र जोशीको परिवारको हालिमुहालीले झण्डै ८ करोड रूपैयाँ एउटा गैर सरकारी संस्थामा स्थानान्तरण गरेर भ्रष्टाचार गरिएको छ । नेपाल राष्ट्र बैंकको भाषामा भन्दा संस्थागत सुशासनको अभाव रहेको संस्थामा प्रमुख कार्यकारी अधिकृतले अाफ्नै परिवारका सदस्यको गैरसरकारी संस्थामा रकम हस्तान्तरण गरेको पाइएको हो ।

विपन्न महिलालाई वित्तीय सेवा दिंदै आएको छिमेकको व्यवस्थापनले ऋणीसँग उठाएको रकममा अनियमितता गरेको को छ । विपन्न ऋणीसँग एक दशकअघिदेखि ऋणी/पशुधन सुरक्षण कोषका नाममा उठाएको करीब रु.८ करोड संस्थाको व्यवस्थापनले गैरसरकारी संस्थामा स्थानान्तरण गरेर भ्रष्टाचार गरेको हो । प्रमुख कार्यकारी अधिकृत जोशीकै संलग्नता यस्तो भएपछि कर्मचारीहरूले नेपाल राष्ट्र बैकको ध्यानाकर्षण गराएका छन ।

कतिसम्म भने भूकम्प पीडितलार्इ राहत दिने भनेर उठाएको रकम समेत भ्रष्टाचार गरेर त्यही संस्थामा सरिएको पाइएको छ । छिमेक सेवा समाज संस्थाले चितवनमा तीन बिघा जमीन खरीद तथा प्लटिङ गरी लघुवित्तका पदाधिकारी, कर्मचारी र उनीहरूको परिवारलाई बेचेको पाइएको छ । लघुवित्तको डेपुटी जनरल म्यानेजर शोभा मिश्र, मानव संसाधन विभाग प्रमुख चोलराज शर्मा, तालिम विभाग प्रमुख दीपकनिधि तिवारी छिमेक समाज सेवा संस्थाका सञ्चालक हुन् । मिश्र, शर्मा र तिवारी लघुवित्तका सीईओ जोशीका एकदमै नजिकका नातेदार हुन् ।

छिमेक लघुवित्तले गरीब ऋणीसँग कर्जा तथा पशुधनको सुरक्षणबापत उठाएको रकम छिमेक सेवा समाज नामक गैरसरकारी संस्थामा सारेर भ्रष्टचार गरेको पाइएपछि नेपाल राष्ट्र बैंकले छानविन अघि बढाएको छ । ऋणीको रकमबाट घरजग्गा खरीदलगायतका काम गरेर उच्च व्यवस्थापनका पदाधिकारीहरूले व्यक्तिगत लाभ लिएका छन । छानविन गरिरहेको राष्ट्र बैंकले छिमेकमा लामाे समयलदेखि संस्थागत सुशासनको अभाव भेटिएको बताएको छ ।

राष्ट्र बैंकको लघुवित्त प्रवद्र्धन तथा सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक जनकबहादुर अधिकारीका अनुसार छिमेक लघुवित्तको रकम गलत नियतले गैरसरकारी संस्थामा सारिएको भेटिएपछि विभिन्न कागजपत्र मगाएर अनुसन्धान भइरहेको छ।  बैंकले छिमेकका जोशीसहित उच्चतहका अधिकारीसँग स्पष्टिकरण समेत लिएको छ ।

छिमेकले आफ्ना सदस्य (ऋणी) बाट वार्षिक रूपमा कर्जा रकमको १ प्रतिशत ऋणी सुरक्षण शुल्क लिन्छ भने शुपालनको लागि ऋण दिँदा कुल रकमको ५ प्रतिशत पशु संरक्षण कोषमा राखेर अशुल गर्दै अाएको छ । यस्तै छिमेकले सम्पूर्ण सदस्यबाट उठाएको प्रति सदस्य मासिक रु.१ मा त्यति नै थपेर कल्याणकारी कोषमा जम्मा गर्छ भने  कर्मचारीको वर्षेनि दुई दिन बराबरको तलब समेत राख्ने गरेको छ । यसरी जम्मा हुन अाउने करिब एक करोड रकम जोशी परिवारले अाफ्नै परिवारले चलाएको गैरसरकारी संस्थामा सार्दै अाएको पाइएको हो ।

प्रकाशित मिति : ४ पुष २०७५, बुधबार १०:००