१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

उखान प्रयोग गरेरै ओलीमाथि बालेनको प्रहार, ‘उहिलै मरिन् सासू, अहिले आए आँसु’

२६ भदाै, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीमाथि फेरि प्रश्न उठाउनु भएको छ । तीन वर्ष अगाडि नै सर्वोच्च अदालतले गरेको फैसलालाई लिएर अहिले तातेको भन्दै शाहले ओलीमाथि गम्भीर प्रश्न गर्नुभएको छ । प्रमुख शाहले ओलीको चरित्रले कसरी देश बिगार्दै छ भन्ने उदाहरण सर्वोच्चको फैसला र सरकारको दौडधुपले प्रस्ट पारेको बताउनुभएको छ ।

उहाँले यस्तो उल्लेख गर्नुभएको छ

उहिलै मरिन् सासू, अहिले आए आँसु
। यो चरित्रले कसरी देश बिगार्दै छ भन्ने उदाहरण ।

म काठमाण्डौ महानगरको मेयरमा उम्मेदवारी दिन्छु कि भन्ने तपाईले थाहा पाउनु भन्दा पनि ३ बर्ष अगाडि न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको इजलासले २०७६ साउन २० गते १२ बुँदे आदेश जारी गरी नदीतटको मापदण्ड थप २० मिटर कायम गर्न भनियो । त्यति बेला अहिले प्रधानमन्त्री रहेका खड्ग प्रसाद ओली नै प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँले नियुक्त गर्नु भएको महान्यायधिवक्ता अग्नि खरेल, उहाँकै पार्टी एमालेले बनाएको बागमतीको मुख्यमन्त्री डोरमणि पौडेल, उहाँकै पार्टी एमालेले बनाएको काठमाण्डौको मेयर विद्यासुन्दर शाक्य । यी सबैले आफ्नो सचिव र सम्बन्धित कर्मचारी पठाएर तर्क गरे पछि, नदितट उपयोगिताको योजना अदालतलाई देखाएपछि मात्र अदालतले त्यो फैसला गरेको थियो । अदालतको प्रक्रिया नै यहि हो । पक्ष विपक्ष दुवैको तर्क सुन्छ र फैसला गर्छ । यदि फैसला मन नपरेमा पुनरावेदन गर्ने अधिकार रहन्छ ।

प्रधानमन्त्री खड्ग प्रसाद ओली, बागमतीका मुख्यमन्त्री डोरमणि पौडेल, काठमाण्डौ महानगरका मेयर विद्यासुन्दर शाक्य कोही पनि सो फैसला पुनरावेदनका लागि गएनन् । यसको अर्थ हो, त्यो फैसलामा यी मध्ये कसैको असहमति रहेन ।

हामीले खोज्ने जवाफ यति हो, त्यो बेला किन पुनरावेदनमा गएनन् रु कि भन्न पर्यो, त्यो बेला हाम्रो बुद्धि पुगेन । या भन्न पर्यो, अहिले हाम्रो दाउ अर्कै छ । उहिलै मरिन् सासू, अहिले आए आँसु किसिमको अवसरवादी चरित्र बारेमा प्रश्न गर्नै पर्छ ।

हाम्रो सँधै त्यहि कुरा छ, नदी तथा खोलाको तटीय क्षेत्रमा निर्माणको योजना बनाउँदा, नक्सापास गर्दा, घरजग्गाको कारोवार गर्दा वा घरजग्गा धितो राख्दा यस मापदण्डलाई पालना गरिदिनु होला । अन्यथा, पछि धोका पाउनु हुनेछ सरकार बाट अर्को मापदण्ड ल्याएर ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार १०:४४