१ आश्विन २०८१, मंगलवार | Tue Sep 17 2024

खुला मिनीम्याराथन प्रतियोगितामा इटहरीका धनु मानन्धर प्रथम

२४ भदौ, रुपन्देही । एक सय ११औँ बिपी जयन्तीको अवसरमा नेपाली कांग्रेस रुपन्देहीद्वारा आयोजित खुला सडक दौड प्रतियोगितामा इटहरीका धनु मानन्धरले प्रथम स्थान प्राप्त गर्नुभएको छ ।

पाँच किलोमिटरको सो प्रतियोगितामा उहाँले १५ मिनेट ५२ सेकेण्डमा उक्त दूरी पूरा गर्दै प्रथम हुनुभएको हो । यसैगरी रुपन्देही गैडहवाका उमेश बरईले १६ मिनेट चार सेकेण्ड र रुपन्देही सियारीका अजय पाण्डेले १६ मिनेट २५ सेकेण्डमा उक्त दूरी पूरा गर्दै क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गर्नुभयो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडिबाट सुरु भएको दौड लुम्बिनी रोड, नारायणपथ हुँदै मिलनचोकमा समापन भएको थियो ।

यसैगरी प्रतियोगिताको महिलातर्फ भने नेपाली सेनाको वर्चस्व रह्यो । महिलातर्फ दोस्रोबाहेक सबै पुरस्कार सेनाले हात पारेको छ । कालीभक्ती गणका सरिताकुमारी बस्नेतले पाँच किमीको दूरी २१ मिनेट २९।४४ सेकेण्डमा पूरा गर्दै प्रथम हुनुभयो भने कुसुम ठगुन्नाले २१ मिनेट २९।७३ सेकेण्ड र विपना केसी २१ मिनेट ४४ सेकेण्डमा पूरा गर्दै क्रमशः दोस्रो र तेस्रो हुनुभयो ।क

पुरुषतर्फ मनोज केवट र महिलातर्फ विन्दु थापाले सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको प्रतियोगिता संयोजक ओमकुमार श्रेष्ठले बताउनुभयो ।

प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्नेलाई रु १० हजार र प्रमाणपत्र, दोस्रोलाई नगद रु पाँच हजारसहित प्रमाणपत्र, तेस्रो हुनेलाई रु तीन हजार नगदसहित प्रमाणपत्र र सान्त्वना हुनेलाई रु एक हजार पाँच नगदसहित प्रमाणपत्र प्रदान गरिएको खेल संयोजक श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र सर्वसाधारण गरी चार सय ५० जना बढी धावकको सहभागिता रहेको उहाँले बताउनुभयो ।

‘खेलको विकास गर्नुपर्छ’ भन्ने बिपीको भनाइलाई आत्मसात् गर्दै प्रतियोगिताको आयोजना गरिएको कांग्रेसका जिल्ला सभापति रामकृष्ण खाणले बताउनुभयो । “खेलले नागरिकलाई स्वस्थ बनाउँछ, राष्ट्रलाई बलियो बनाउँछ । राष्ट्रियतालाई बलियो बनाउँछ । त्यही सिलसिलामा हामीले पनि खेलको विकास र युवालाई सङ्गठित बनाउने उद्देश्यसहित प्रतियोगिताको आयोजना गरेका हौँ”, उहाँले भन्नुभयो, “खेलको विकासबाट राष्ट्रकै विकास गर्न सकिन्छ र यसमा पार्टीहरू पनि लाग्नुपर्ने सन्देशसहित मिनी म्याराथनको आयोजना गरेका हौँ ।” प्रतियोगिताको शुभारम्भ नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेशसभा सदस्य अब्दुल रज्जाकले गर्नुभएको थियो ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार १०:५९