३० भाद्र २०८१, आईतवार | Sun Sep 15 2024

टान निर्वाचन: यस्ता छन् पाण्डे र सपाकोटाका साझा ‘एजेन्डा’

१६ भदौ, काठमाडौँ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को नयाँ नेतृत्वका लागि आकाङ्क्षीहरुले प्यानल नै बनाएर चुनावी गतिविधिलाई तीव्र बनाएका छन् । अध्यक्षका दुई आकाङ्क्षी राजेन्द्रप्रसाद सापकोटा र सागर पाण्डेले समूहगत रुपमा नयाँ कार्यसमितिका लागि चुनावी प्रतिस्पर्धामा होमिएका छन् । तर उनीहरुका चुनावी एजेन्डा भने अधिकांश समान छन् । अध्यक्षको प्रतिस्पर्धा भए पनि उहाँहरुले उठाएका केही मुद्दा भने समान छन् ।

टानको सोमबार हुने वार्षिक साधारणसभा तथा नयाँ कार्यसमिति चयनका लागि हुने निर्वाचनमा अध्यक्ष पदमा पर्यटन व्यवसायी राजेन्द्रप्रसाद सापकोटा र सागर पाण्डेबीच प्रतिस्पर्धा हुने भएको हो । अध्यक्षका दुवै प्रत्याशीले आफ्नो प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् । उनीहरुले पदयात्रा संरक्षण, पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) को व्यवस्थापनदेखि पर्यटन ऐनलाई समयसापेक्ष संशोधनलगायत मुद्दालाई अगाडि सारेका छन् । मुलुकको पर्यटन क्षेत्रको विकासका लागि टानलाई सक्षम र पर्यटन क्षेत्रलाई बलियो बनाउनुपर्नेमा दुवै अध्यक्षका प्रत्याशीले जोड दिएका छन् ।

अध्यक्षका प्रत्याशी सापकोटाले पदयात्रा व्यवसायको संरक्षण र साहसिक पर्यटन प्रवद्र्धनको मुद्दालाई प्राथमिकता दिनुभएको छ । समस्याग्रस्त पदमार्ग सुरक्षित गर्ने, भत्केका पदमार्गमा वैकल्पिक मार्ग बनाउने, पदमार्ग जोगाउन र जलवायु परिवर्तनको जोखिम नियन्त्रणका लागि माध्यमिक तहको शिक्षामा नै पर्वतीय पर्यटनको अध्ययनको व्यवस्था गर्नुपर्ने ‘एजेन्डा’ रहेका छन् । टिम्स कार्डलाई व्यवस्थित गरी, गाइड लिएर मात्रै पदयात्रामा जाने व्यवस्था गर्ने, हरेक वर्ष एडभेन्चर ट्राभल मार्ग गर्नेजस्ता विषय पनि चुनावी एजेन्डामा समेटिएका छन् ।

विगत २० वर्षदेखि पर्यटनमा सक्रिय सापकोटा नेपाल पर्यटन बोर्डको पूर्वसञ्चालक समिति सदस्य एवं ‘आउटडोर हिमालयन ट्रेक्स’का प्रबन्ध निर्देशकसमेत हुनुहुन्छ । स्थानीय तहसँग समन्वय गरेर पदमार्गको दिगो विकासका लागि पहल गर्ने, रोजगारी सिर्जना गर्ने र मजदुरका समस्या सम्बोधनका लागि पहल गर्ने  प्रतिबद्धता जनाइएको छ । दुई हजारभन्दा बढी पदयात्रा (ट्रेकिङ) व्यवसायी आबद्ध रहेको छाता सङ्गठनलाई सक्षम र बलियो बनाउनुपर्नेमा दुवै अध्यक्षका प्रत्याशीको जोड रहेको छ ।

अध्यक्षका अर्का प्रत्याशी पाण्डेले टिम्स व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राखेर नियन्त्रित पदमार्गको परमिटमा सहजीकरण गर्ने तथा करसम्बन्धी समस्या समाधान गर्ने उल्लेख गर्नुभयो । टानका पूर्व महासचिवसमेत रहनुभएका पाण्डेले सबल, सक्षम टान निर्माण गर्न, टान अक्षयकोष स्थापना गर्न, पर्यटन व्यवसायमा कायम भ्याट छुटका निम्ति विशेष पहल गर्न आफूले उम्मेदवारी दिएको बताउनुभयो । अध्यक्षका प्रत्याशी पाण्डेले ट्रेकिङ कम्पनीमार्फत मात्र पदयात्रामा जाने बाध्यात्मक व्यवस्था मिलाइने तथा करसम्बन्धी समस्या समाधान गर्ने उल्लेख गर्नुभयो ।

दुवै उम्मेदवारले पदयात्राको संरक्षण, नयाँ पदमार्गको खोजी, टिम्सको कार्यान्वयन, पर्यटन क्षेत्रका श्रमिक मजदुरको समस्या सम्बोधन, विकासका नाममा क्षति पुगेका पदमार्ग विकास गर्ने एजेन्डा अगाडि सार्नुभएको छ । यस्तै, ६ लाख श्रमिक र तीन हजारभन्दा बढी व्यवसायीको हकहितको संरक्षण, नयाँ पदमार्गको खोजी, प्रचार–प्रसार तथा प्रवद्र्धन, टिम्स कार्यान्वनका साथै टिम्सबापत जम्मा भएको करिब रु ३५ करोड रकम परिचालन गरिनुपर्ने दुवै उम्मेदवारका साझा एजेन्डा रहेका छन् । पर्यटन क्षेत्रका व्यवसायीलाई कर छुट, पदयात्रासम्बन्धी अध्ययन, पर्यटन ऐनको समयसापेक्ष संशोधनका लागि पहल गर्नेलगायतका मुद्दालाई सामूहिक रुपमा उठाइएको छ ।

पर्यटक सवारीसाधन खरिदमा भन्सार छुटको व्यवस्थाको पहल गरी कार्यान्वयन गराइने, जलवायु परिवर्तनको एजेन्डालाई प्राथमिकमा राखेर उठान गरिने, पर्यटन ऐनलाई समयसापेक्ष बनाइने, ‘एक्सपेरियन्सल टुरिजम’को विकास गरिने, अन्तर्राष्ट्रियस्तरका विभिन्न प्रशिक्षण कोर्ष सञ्चालन गरिने तथा पर्वतीय पर्यटनको विकासमा दातृ निकायसँग सहकार्य गरिने दुवै उम्मेदवारले उल्लेख गर्नुभएको छ ।

टानको निर्वाचनमा अध्यक्ष, पदाधिकारी र सदस्य गरी कूल २५ सदस्यीय कार्यसमितिमध्ये १७ जना निर्वाचित र बाँकी सदस्य मनोनीत गर्ने व्यवस्था छ । टानका महासचिव विनोद सापकोटाका अनुसार निर्वाचनमा एक हजार तीन सय ९७ मतदाता छन् । निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको उहाँले बताउनुभयो ।

के भन्छन् टानका पूर्वअध्यक्षहरु

टानका पूर्वअध्यक्ष दीपक महतले सडक पूर्वाधारका कारण पदमार्ग मासिँदै गएकाले तिनको संरक्षण र वैकल्पिक पदमार्गको प्रवद्र्धनमा नयाँ नेतृत्वले ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभयो । पुरानो पर्यटन नीति र पर्यटन ऐनलाई समयसापेक्ष बनाएर टानलाई व्यवसायी र पर्यटनमैत्री बनाउनुपर्ने अपरिहार्य भएको उहाँको भनाइ छ ।

“पदमार्ग मासिँदै गएका छन् । यसलाई वैकल्पिक मार्गका रुपमा जोगाइराख्न जरुरी छ”, पूर्वअध्यक्ष महतले भन्नुभयो, “नियन्त्रित क्षेत्रहरुमा पर्यटकहरु दुईजना नभई प्रवेश पाउँदैनन् त्यसमा एकजनाले पनि अनुमति पाउने व्यवस्था हुन जरुरी छ ।”

टानका अर्का पूर्वअध्यक्ष चन्द्रप्रसाद रिजालले पर्यटन क्षेत्रकै सबैभन्दा ठूलो संस्था टानले पर्यटन ऐनको संशोधनका लागि पहल गर्नुपर्ने पहिलो दायित्व भएको बताउनुभयो । पर्यटन क्षेत्रमा लामोसमयदेखि उठेको करछुट र टिम्स कार्यान्वयनका साथै नियन्त्रित क्षेत्रमा पदयात्री सहजीकरण गरिनुपर्ने उहाँको भनाइ छ । पूर्वअध्यक्ष रिजालले पर्यटन बोर्डले अगाडि बढाएको पदयात्री पर्यटकले अनिवार्य रुपमा सहयोगी लैजाने व्यवस्था गर्न आगामी नेतृत्वले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै, टानका पूर्वअध्यक्ष नवराज दाहालले पदयात्री व्यवसायीले धेरै पहिलादेखि उठाउँदै आएको कर छुटको समस्या सम्बोधन पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिनुभयो । हिमाली क्षेत्रमा नियन्त्रित क्षेत्रमा पदयात्रीलाई सहजीकरण गरिनुपर्ने उहाँको भनाइ छ । बीमा, गाइड र पोर्टको उद्धार, उपचार तथा क्षतिपूर्तिको उचित व्यवस्थालगायत विषयलाई आउने नेतृत्वले ध्यान दिनुपर्ने  पूर्वअध्यक्ष दाहाल बताउनुहुन्छ ।

कति पर्यटकले गरे पदयात्रा

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशन गरेको ‘टुरिजम स्टाटिस्टिक २०२३’ का अनुसार सन् २०२३ मा नेपाल भ्रमणमा आएका कुल पर्यटकमध्ये पदयात्रा र पर्वताराहणका लागि १५ दशमलव दुई प्रतिशत विदेशी पर्यटक नेपाल आएका थिए । सो अवधिमा एक लाख ५४ हजार पर्यटक साहसिक पर्यटनका लागि नेपाल आएका थिए । उक्त सङ्ख्या सन् २०२२ को तुलनामा १० प्रतिशत बढी हो ।

सन् २०१९ मा एक लाख ९७ हजार पर्यटक नेपाल आएका थिए । सन् २०२२ मा ७१ हजार सात सय एक, सन् २०२१ मा १५ हजार पाँच सय ४९ तथा सन् २०२० मा २८ हजार पाँच सय ३० पर्यटक पदयात्रा र पर्वतारोहणका लागि नेपाल आएका थिए । आन्तरिक पर्यटक पनि उल्लेख्य सङ्ख्यामा पदयात्रामा जाने गरेका छन् ।

विशेष गरी नेसनल पार्क एन्ड वाइल्डलाइफ रिजर्भ, पशुपति क्षेत्र परिसर, मनास्लु टे«किङ, मुस्ताङ ट्रेकिङ, तल्लो डोल्पा र कञ्चनजङ्घा ट्रेक पर्यटकको रोजाइमा पर्ने गरेको छ । यस्तै, विश्व चर्चित खुम्बु क्षेत्र, अन्नपूर्ण आधार शिविर, मकालु आधार शिविर, लाङटाङलगायत पदमार्गमा पर्यटकको घुइँचो लाग्ने गरेको छ । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२३ मा एक लाख १४ हजार आठ सय ८२ पर्यटकले नेपाल भ्रमण गरेका थिए । सिबी अधिकारी, रासस

प्रकाशित मिति : १६ भाद्र २०८१, आईतवार २२:१५