९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026

यस्ता छन् केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकका निर्णय

१२ भदौ, काठमाडौँ । राजस्व चुहावट नियन्त्रण तथा करमैत्री सेवा विस्तार गरी चालु आर्थिक वर्षको राजस्व संकलनको लक्ष्य पूरा गर्ने केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकले निर्णय गरेको छ।

बुधबार अर्थ मन्त्रालयमा बसेको समितिको बैठकले अर्थमन्त्रीको अध्यक्षतामा गृहमन्त्री रमेश लेखकसहित राजस्व संकलनको भूमिकामा रहनुभएका विभिन्न निकायका प्रमुखहरूले राजस्व संकलनको लक्ष्यलाई प्रशासनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीहरूको कार्य सम्पादन मूल्यांकनको महत्त्वपूर्ण आधार बनाउने निर्णय गरेका छन् । यस बैठकले राजस्व चुहावट नियन्त्रण तथा केन्द्रीय द्रुत गस्ती टोली गठन गरी पूर्वदेखि पश्चिमसम्म परिचालन गर्ने निर्णय गरेको छ।

अर्थमन्त्री पौडेलले राजस्व चुहावट गर्ने कसैले छुट नपाउने र एउटै व्यक्ति एउटै जिम्मेवारीमा रहँदा हुनसक्ने अनपेक्षित सम्बन्धलाई ब्रेक गर्ने गरी राजस्व प्रशासनसँग जोडिएका कर्मचारी र प्रहरीको पोष्टिङ गर्न निर्देशन दिनुभयो ।

अर्थमन्त्रीले सीमा नाकाहरूमा स्क्यानरसहितका आधुनिक प्रविधिको प्रयोग गरी निगरानीलाई प्रभावकारी बनाउन, आयातित वस्तुको वर्गीकरण तथा मूल्यांकनलाई यथार्थपरक बनाउन, बजारमा बिलबिजक लिने–दिने कार्यलाई प्रोत्साहन गर्नुका साथै नक्कली बिजक वा फर्म खडा गरी हुनसक्ने राजस्व चुहावटप्रति निर्मम भएर अनुसन्धान समेत गर्न निर्देशन दिनुभएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार १५:२३