२८ भाद्र २०८१, शुक्रबार | Fri Sep 13 2024

मौलिक संस्कृति बिर्सिने होइन, विश्वव्यापी बनाउने हो : प्रधानमन्त्री

१० भदौ, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रहेका अनेकौँ सांस्कृतिक तथा मौलिक परम्पराहरूको जगेर्ना गर्दै तिनीहरूको विश्वव्यापीकरण गर्नुपर्ने बताउनुभएको छ ।

गौरापर्वको अवसरमा आज टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा उपलब्ध प्राकृतिक र सांस्कृतिक विविधता जगेर्ना गर्न सबैले जिम्मेवारीबोध गर्नुपर्ने बताउनुभयो ।

“हामीसँग अनेकौँ साँस्कृतिक विविधता र मौलिक संस्कृति छन् । त्यसलाई बिर्सिने होईन, विश्वव्यापी बनाउने हो”, उहाँले भन्नुभयो । प्रधानमन्त्री ओलीले सुदूरपश्चिम क्षेत्र नेपालको सभ्यताको उद्गमस्थल रहेकोसमेत उल्लेख गर्नुहुँदै त्यहाँको संस्कार शैली र परम्परालाई संरक्षण र सम्वर्द्धन गर्न सक्नुपर्ने बताउनुभयो ।

सोही अवसरमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गौरापर्व सुदूरपश्चिम र कर्णालीको मौलिक चाँड रहेको बताउँदै यसले एकता र भातृत्वको सन्देश दिएको बताउनुभयो ।

त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौरापर्वले आत्मअनुशासन, मर्यादा, सद्भाव र आत्मियताको सन्देश बोकेको बताउँदै सबैले त्यसलाई व्यवहारमा पनि त्यो देखाउन सक्नुपर्ने बताउनुभयो ।

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सुदूरपश्चिम क्षेत्रमा निकै सम्मान र आत्मियताका साथ गौरापर्व मनाउने गरेको उल्लेख गर्दै राष्ट्रिय एकता र सद्भावका लागि यो पर्वले भूमिका खेल्ने बताउनुभयो ।

मुलुकका हरेक चाडवाड र पर्वहरूले राष्ट्रियता एकतालाई अझ मजबुद बनाउने उहाँको भनाइ छ । पूर्वउपप्रधानमन्त्री डा भीमबहादुर रावलले गौरापर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूको सुख, शान्ति, समृद्धिको कामना गर्नुभयो ।

हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीसम्म सुदूरपश्चिम क्षेत्रमा विशेष रुपमा मनाइने यस पर्वमा भगवान् शिव र पार्वतीको पूजा अर्चना गरी व्रत बस्ने गरिन्छ । राजधानीमा बसोबास गर्दै आएका सुदूरपश्चिमवासीले आज टुँडिखेलमा गौरापर्व मनाएका छन् । सो अवसरमा टुँडिखेलमा सुदूरपश्चिम र कर्णाली क्षेत्रका मौलिक नाँचगान गरी पर्व मनाइएको हो । डेउडा खेलेर, फाग तथा धमारी गाएर गौरा मनाइएको हो ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार १७:५१