२८ भाद्र २०८१, शुक्रबार | Fri Sep 13 2024

दुई महामन्त्रीका प्रतिवेदन माथि छलफल गर्न देउवाले बोलाए बैठक

१० भदौ, काठमाडौं । प्रतिवेदन माथि छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई छलफलमा बोलाउनुभएका छन् ।

मंगलबार बिहान आफ्नै निवास बुढानीलकण्ठमा छलफलका लागि  सभापति देउवालले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङलगायत दुई महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई बाेलाउनुभएकाे कांग्रेसका एक नेताले जानकारी गराउनुभयाे ।

दुई महामन्त्रीले केन्द्रीय समितिमा पेस गरेको प्रतिवेदनलाई सर्वस्वीकार्य बनाई पारित गर्ने बिषयमा छलफल गर्न देउवाले बैठक बोलाउनुभएकाे हाे ।

गत साउन २३ देखि जारी केन्द्रीय समितिको बैठकमा उपसभापति खड्का र दुई महामन्त्रीले पेस गरेको प्रतिवेदनसहित थप ११ एजेण्डाहरुमा छलफल भइरहेको छ ।

जारी केन्द्रीय समिति बैठकमा महामन्त्री थापाले आगामी आवधिक निर्वाचनमा कांग्रेस एक्लै लड्ने प्रतिवेदन पेश गर्नुभएकाे छ।

त्यस्तै, महामन्त्री विश्वप्रकाश शर्माले पनि आफ्नो राजनीतिक प्रतिवेदनमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसदको कार्यकाल तोक्ने प्रस्ताव गर्नुभएकाे छ । महामन्त्री शर्माले  राष्ट्रपति एक कार्यकाल, प्रधानमन्त्री दुई, मन्त्री तीन र सांसद चारपटक भन्दा बन्न नपाउने प्रस्ताव छ । उक्त बैठक १२ भदौमा सकिँदैछ ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार १५:०१