२८ भाद्र २०८१, शुक्रबार | Fri Sep 13 2024

सरकारलाई अप्ठेरो पर्ने गरी धमाधम सर्वोच्चको फैसला आउनु राम्रो संकेत होइनः नेता रिजाल

१० भदौ, काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले सर्वोच्च अदालतले पछिल्लो दिनमा गरेका फैसलाहरू गम्भीर प्रकृतिका रहेको बताउनुभएको छ । सोमबार बिहान सामाजिक सञ्जाल मार्फत उहाँले राजनीतिक नेतृत्वलाई अरु कुनै प्रकारको दवाव दिन खेल भइरहेको आशंका भइरहेको बेला सरकारलाई अप्ठेरो पर्ने गरी धमाधम सर्वोच्चको फैसलाहरू  आइरहेको बताउनुभएको हो ।

उहाँले भन्नुभएको छ, ‘पछिल्ला दिनमा अदालतबाट भएका फैसला सामान्य छैनन् । कर्मचारीलाई तलब बढाउन दिएको आदेश मुलुकको अर्थतन्त्रले धान्नै सम्भव छैन, प्रहरीमा ३० बर्षे अवधि नहटाउन दिएको आदेशले प्रहरीमा उथलपुथल मात्र ल्याएको छैन, कार्यकारीको हात बाँधेको छ ।’

उहाँले अघि भन्नुभएको छ, ‘राष्ट्रिय परिचयपत्र लागू नगर्न दिइएको आदेशले सरकारको ठूलो लगानीलाई निकम्मा सावित गरेको छ । कतिपय निर्णयका विरुद्धमा सरकार ‘भ्याकेट’मा जाने पनि सुनिएको छ । हरेक फैसला यही देशमा लागू हुने हुन्, न्यायाधीश पनि यही समाजका सदस्य हुन् । राजनीतिक नेतृत्वलाई अरु कुनै प्रकारको दवाव दिन खेल भइरहेको आशंका भइरहेको बेला सरकारलाई अप्ठेरो पर्ने गरी धमाधम निर्णयहरु आइरहेका छन् ।’

 

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार ०८:५३