इच्छाकामनाको स्याङ्दी खोलामा झोलुङ्गे पुल निर्माण
८ भदौ, चितवन । चितवनको स्याङ्दी खोलामा झोलुङ्गे पुल निर्माण भएको छ । इच्छाकामना गाउँपालिका–७ स्थित सिमलढाप र बाघखोर जोड्ने स्याङ्दी खोलामा झोलुङ्गे पुल निर्माण गरिएको हो ।
पुलको शुक्रबार गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले शिलान्यास गर्नुभयो । सो अवसरमा उहाँले पुल निर्माणपछि बर्खाको समयमा बाढीका कारण आवतजावत गर्न नपाउने अवस्थाको अन्त्य भएको बताउनुभयो । “पुल निर्माणपछि यहाँका नागरिक अब निकै लाभान्वित हुनेछन्”, उहाँले भन्नुभयो, “धेरै वर्षअघि निर्माण हुनुपर्ने पुल हाम्रो कार्याकालमा निर्माण भएको छ ।”
उहाँले पुल निर्माणपछि वडा कार्यालय, स्वास्थ्य चौकी र विद्यालयमा आवतजावत गर्नका लागि यहाँका बासिन्दालाई सहज हुने बताउनुभयो । अध्यक्ष गुरुङले समयमै पुल निर्माण सम्पन्न गर्न खटिने उपभोक्ता समिति र स्थानीयलाई धन्यवाद दिनुभयो ।
पालिकाले नागरिकका आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको भन्दै उहाँले यस वर्ष पनि सबै योजना समयमै निर्माण सम्पन्न गरिने बताउनुभयो । उहाँले गाउँघरमा भएका विकास निर्माणका काममा अनुगमन र खबरदारी गरिरहन स्थानीयलाई अनुरोध गर्नुभयो ।
पुल निर्माणपछि सिमलढाप, पिपलटार, बाघखोर, लोसे, स्याङ्दी, सुन्दरबस्ती र गर्दासका नागरिक लाभाम्वित भएका छन् । एक सय २० मिटर लामो पुल गाउँपालिका र पिटिएपी बागमती प्रदेशको लगानीमा निर्माण भएको हो । पुल निर्माणका लागि रु एक करोड छ लाख ९७ हजार बजेट विनियोजन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिनुभयो ।
उहाँका अनुसार पुल निर्माणमा श्रमदानसहित उपभोक्ता समितिको रु ५५ लाख लागत परेको छ । प्राविधिक र निर्माण सामग्री गाउँपालिकाले उपभोक्ता समितिलाई उपलब्ध गराएको बस्नेतले बताउनुभयो । विसं २०८० माघ ११ गते निर्माण सम्झौता भएर २०८१ असार मसान्तभित्र निर्धारित समयमै पुल निर्माण सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।
वर्खाको समय र केही प्राविधिक कारणले उद्घाटनमा ढिलाइ भएको उहाँले बताउनुभयो । यसवर्ष पनि स्याङ्दी खोलाको संरक्षणका लागि बजेट विनियोजन भएको बस्नेतले जानकारी दिनुभयो । यस क्षेत्रमा आदिवासी गुरुङ, तामाङ लगायतका समुदायको बाहुल्यता छ । गाउँपालिकाको समथर भूभाग भएको वडा भएका कारण पनि यहाँ आएर बसोबास गर्नेक्रम बढ्दो छ ।
गाउँपालिका उपाध्यक्ष माया सिलवालले पुलको भरपुर सदुपयोग र संरक्षणका लागि नियमित निगरानी गरिराख्न स्थानीयलाई अनुरोध गर्नुभयो । उहाँले निर्वाचनका क्रममा जनतासँग गरेका बाचा क्रमशः पूरा हुने चरणमा रहेको भन्दै नागरिकका आवश्यकताका आधारमा काम गरिरहेको बताउनुभयो ।
गाउँपालिकामा पहिलोपटक सस्पेन्डेड पुल निर्माण गरिएको पालिकाका सवइञ्जिनियर भरत गुरुङले जानकारी दिनुभयो । उहाँले पुलको नियमित मर्मत र रेखदेखका लागि हेरालु राखिने बताउनुभयो । पुल निर्माण भएपछि स्थानिय बासिन्दा खुसी भएका छन् । दैनिक खोला तरेर स्कूल जाने गर्नुभएका सन्देश चेपाङ पुल निर्माण भएपछि उत्साहित भएको बताउनुभयो । उहाँले वर्खाको समयमा पुल नहुँदा धेरैपटक स्कूल जान नपाएको भन्दै अब भने नियमित स्कूल जान पाइने हुँदा पढाइमा सहजता हुने बताउनुभयो ।
प्रकाशित मिति : ८ भाद्र २०८१, शनिबार १२:४४