३० कार्तिक २०८१, शुक्रबार | Sat Nov 16 2024

भौतिक मन्त्री दाहाल भन्छन् : अनशन बसेर कमलाकाे पुल बन्दैन

६ भदौ, काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले वर्षाका कारण अवरुद्ध भएका राजमार्ग दुई घण्टाभित्र सञ्चालन गराउने गरी आवश्यक जनशक्ति परिचालन गरिने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक र शून्य समयमा सांसदहरुले सडक र भौतिक पूर्वाधारका विषयमा उठाउनुभएका प्रश्नको जवाफ दिने क्रममा उहाँले अवरुद्ध राजमार्ग दुई घण्टाभित्र सञ्चालन गरिने प्रतिबद्धता जनाउनुभयो ।

भौतिक, पूर्वाधार र यातायतका विषयमा उठेका प्रश्नलाई उहाँले सकारात्मक सुझावका रुपमा लिएको बताउँदै वर्षातका कारण मन्त्रालयलाई काम गर्न केही कठिन भएको जानकारी गराउनुभयो । “अविरल वर्षासँगै आएको पहिरोले नागढुङ्गा खण्ड अवरुद्ध भएको थियो, उक्त पहिरो तत्काल पन्छाएर आवागमन नियमित सञ्चालन गर्न केही समस्या भयो । योबाहेक अन्य राष्ट्रिय राजमार्गमा भएको सडक अवरुद्ध दुई घण्टाभित्र हटाउन सफल भएका छौँ”, उहाँले भन्नुभयो ।

सभाको आजको बैठकमा अधिकांश सांसदले हुलाकी राजमार्गअन्तर्गत धुनषा र सिरहाको दक्षिणी सिमानास्थित कमला नदीमा बन्दै गरेको पुल भासिएको अवस्थाबारे सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । उक्त प्रश्नको जवाफ दिँदै मन्त्री दाहालले ठेकेदार र निर्माण व्यवसायीको बीमा विवादले पुनः निर्माण रोकिएको जानकारी गराउनुभयो । उहाँले यो समस्या समाधान गर्न सम्बन्धित पक्षसँग छलफल गरेर यथाशीघ्र निकासा ल्याउने प्रतिबद्धता जनाउनुभयो ।

पुल निर्माणको मागसहित अनशनमा बस्नुभएका स्थानीयलाई सम्बोधन गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहालले भन्नुभयो, “अनशन बसेर समस्याको समाधान आउँदैन, सबै मिलेर छलफल गरौँ र समाधान निकालौँ ।”

भौतिक मन्त्रालयमा फाइल थन्किएको छ भन्ने सांसदहरुको प्रश्नलाई मन्त्री दाहालले कर्मचारी व्यवस्थापन गरेसँगै कुनै पनि पुराना कामसम्बन्धी फाइल कार्यालयमा नरोकिने जानकारी दिनुभयो । उहाँले आगामी असोजसम्म भौतिक निर्माणसम्बन्धी सम्पूर्ण ठेक्काहरु लागू गरिसक्ने मन्त्रालयको लक्ष्य रहेको बताउनुभयो । “बर्खाको समय भएकाले केही काममा ढिलाइ र केही काम अवरुद्ध भएका छन्”, उहाँले भन्नुभयो, “आगामी असोजसम्ममा सम्पूर्ण ठेक्काहरु सुरु गरिसक्छौँ ।”

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहीबार १६:५४