गुण्डागर्दीले त्रिभुवन विश्वविद्यालय असुरक्षित, गृहमन्त्रीसँग शिक्षामन्त्रीको गुहार
५ भदौ, काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा गुण्डागर्दी गर्ने छुट कसैलाई नरहेको बताउनुभएको छ । बुधबार बिहानै सामाजिक सञ्जाल मार्फत ५९ शब्दमा शिक्षामन्त्री भट्टराईले त्रिविमा गुण्डागर्दी गर्ने छुट कसैलाई नभएको बताउनुभएको हो ।
उहाँले गुण्डागर्दी गर्नेहरूलाई कानुनी कारबाहीको दायारामा ल्याउन गृह मन्त्रालयसँग माग समेत गर्नुभएको छ । शिक्षा मन्त्री भट्टराईले त्रिवि पदाधिकारी र प्राध्यापकहरूलाई फोन गरेर धम्की दिनुले सिंगो विश्वविद्यालय असुरक्षित बनेको बताउनुभयो ।
उहाँले भन्नुभएको छ, ‘त्रिभुवन विश्वविद्यालयमा केहि दिन देखि पदाधिकारीहरु माथि हमला गर्न खोज्नु र प्राध्यापकहरु लाइ फोन गर्दै धम्कि दिने गरेको कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको छ । त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि ब्यबस्थित प्रबन्ध गर्न म गृहमन्त्री सङ्ग जोडदार माग गर्दछु । गुण्डागर्दि गर्ने छुट कसैलाइ छैन यस्तो क्रियाकलापमा संग्लग्न ब्यक्तिहरुलाइ कानुनी दायरामा ल्याइ कार्वाही गर्न समेत म गृहमन्त्रालय लाइ गम्भीरताका साथ अनुरोध गर्दछु ।’
त्रिविको सन्दर्भमा गुण्डागर्दीको विषय शिक्षामन्त्रीले उठाउनुको रहस्य रोचक रहेको छ । त्रिविको मानविकी संकाय अन्तर्गतको समाजशास्त्र केन्द्रीय विभागको विभाग प्रमुखको नियुक्तिको विषयमा उपकुलपति, रेक्टर, रजिष्ट्रार र डिनले प्रर्दशन गरेको असक्षमताले शिक्षामन्त्री भट्टराई पनि विवादको भुमरीमा प्रवेश गर्नुभएको छ । त्रिविमा गुण्डाकर्दीको ट्रेडमार्क नेपाली कांग्रेस र नेविसंघको नाममा रहेको छ ।
वर्षौसम्म त्रिवि पदाधिकारीको कार्यकक्षमा ताला लगाएर त्रिविको क्यालेन्डरनै प्रभावित गर्दै आएको कुरा कतै लुकेको छैन । यही सन्दर्भमा पछिल्लो पटक विभागीय प्रमुख नियुक्तिका लागि कांग्रेस निकटका प्राध्यापकहरूले मानविकी संकायको डिन कुशुम शक्यको दुरूपयोग गर्दा समस्या सिर्जना भएको हो ।
स्रोतका अनुसार विभागमा विभागीय प्रमुखका लागि वरिष्ठताको आधारमा सहप्राध्यापक डा पासाङ शेर्पा, सहप्राध्यापक डा टीका गौतम र सहप्राध्यापक डा सुरेश ढकालको नाम सिफारिस हुनुपर्नेमा डिन शाक्यले सहप्राध्यापक डा टीका गौतम, सहप्राध्यापक डा पासाङ शेर्पा र सहप्राध्यापक डा सुरेश ढकालको नाम सिफारिस गर्नुभएको छ । जसको कारण विभागीय प्रमुखको नियुक्ति विवादित बनेको छ ।
सोही नियुक्ति हुन नसकेपछि बुधबार बिहानै शिक्षामन्त्रीले नै त्रिवि असुरक्षित रहेको र गुण्डागर्दी बढीरहेको विषय सामाजिक सञ्जाल मार्फत सर्वजनिक गर्नुभएको छ । एउटा विभागीय प्रमुख नियुक्ति गर्दा समेत मापदण्डमा ध्यान दिन नसक्ने नालायक त्रिवि पदाधिकारीहरूका कारण शिक्षामन्त्रीनै विवादको अनावश्यक भूमरीमा पर्नुभएको छ । विभागीय प्रमुखमा अहिले सिफारिस भएकै आधारमा एक नम्बरका गौतमको नियुक्तिका लागि कांग्रेसले सम्पूर्ण बल प्रयोग गरिरहेको छ भने शिक्षामन्त्रीले विधि नबिगार्न अनुरोध गर्नुभएको छ । शिक्षामन्त्री त्रिविको सहकुलपति र प्रधानमन्त्री कुलपति हुनुहुन्छ ।
त्रिवि उपकुलपति प्रा डा केशरजंग बरालले विश्वविद्यालयमा राजनीति हुन नदिने र नियुक्ति, सरूवा र बढुवामा विधिमा टेकेर काम गर्ने प्रतिवद्धता जनाए पनि त्यो चियापसलको राजनीतिक गफ जस्तो हुन पुगेको छ । एउटा विभागीय प्रमुखको नियुक्तिमै पदाधिकारीमा देखिएको यो हदको असक्षमताले त्रिवि पदाधिकारीको जागिर पूरा समय टिक्नेमा शंका देखिएको छ।
प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार ०८:११