१ मंसिर २०८१, शनिबार | Sat Nov 16 2024

सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने

४ भदाै, काठमाडौँ । सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने भएकाे छ । तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वकाे सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको १० महिनापछि वर्तमान सरकारले हटाउने तयारी गरिएको हो । सरकारले विसं २०८० कात्तिक २७ गते टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

टिकटकले नेपालको नीति–नियम सबै पालना गर्ने प्रतिबद्धतासहित पहल थालेपछि सरकार प्रतिबन्ध हटाउने विषयमा छलफलमा जुटेकाे हाे । टिकटकको एसियाका पोलिसी डिभिजन चिफ फेरसले केहीदिन अगाडि इमेलमार्फत् प्रतिबद्धता पत्र सञ्चार मन्त्रालयलाई पठाएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली पनि प्रतिबन्ध हटाउन सकारात्मक देखिएपछि सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङले टिकटकका नेपाल प्रतिनिधिसँग छलफल सुरू गर्नुभएकाे हाे । मन्त्रालयले मन्त्रिपरिषद्‌मा प्रस्ताव लगेर निर्णय गराई प्रतिबन्ध हटाउने तयारी भइरहेको बताइएकाे छ ।

यसअघि सरकारले सामाजिक सद्भाव बिथोलेको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलवार १५:१८