१ मंसिर २०८१, शनिबार | Sat Nov 16 2024

दिवङ्गत आफन्तको सम्झना गरी गाईजात्रा मनाइँदै

४ भदाै, काभ्रेपलाञ्चोक । एक वर्षभित्र दिवङ्गत आफन्तजनको सम्झनास्वरुप आत्माको शान्तिको कामना गर्दै नेवार समुदायद्वारा मनाइने गाईजात्रा पर्व काभ्रेका दुई ठूला सहरमा मनाइँदैछ । विशेषगरी सदरमुकाम धुलिखेल र बनेपा नगरमा यो जात्रा भाद्र कृष्ण प्रतिपदाको दिन अर्थात् आज मनाइँदैछ ।

यस पर्वमा परिवारका आफन्तजनको सहभागितामा गाई र मानिसलाई शृङ्गारी बजार परिक्रमा गराई मनाइन्छ । विशेषगरी नेवारी संस्कृतिको परम्पराअन्तर्गत यस जात्रालाई बर्सेनि निरन्तरता दिएको पाइएको हो । “आफ्ना धर्म संस्कृति–पराम्पराअनुसार बर्सेनि जात्रालाई निरन्तरता दिँदै आएका छौँ”, बनेपाका माधव श्रेष्ठले भन्नुभयो । उहाँका अनुसार जात्रामा परिवारका सदस्य तथा नातेदारको सहभागिता रहने गर्दछ ।

केही वर्षअघिसम्म बनेपा र धुलिखेलमा मल्लकालीन नेवारी सस्ंकृति धुमधामका साथ मनाइने गरिएको बनेपाका साहित्यकार मोहन दुवाल बताउनुहुन्छ । उहाँका अनुसार भक्तपुरको गाईजात्रा संस्कृति–मौलिकतालाई यहाँका नेवार समुदायले अनुशरण गर्दै नाटक, व्यङ्ग्य–प्रहसन तथा संस्कृति झल्कने नाचसहित मनाउँदै आएका हुन् । मल्लकालीन अवस्थादेखि नै गाईजात्रा पर्व भक्तपुरबाट सयौँ वर्षअघि सुरुआत गरिएको विभिन्न लेख–अभिलेखबाट प्रष्ट देखिने उहाँ बताउनुहुन्छ ।

बनेपा, धुलिखेल, पनौती, पाँचखाल, साँगा, नालालगायत जिल्लाका मुख्य सहरबजारमा नेवार समुदायका परिवारले गाई र मानिसलाई श्रृङ्गारी नगर परिक्रमा गराउँछन् । जात्रामा सहभागी केहीले जात्राको पोशाकको मुखुण्डो लगाई विभिन्न वाद्यवादन सामग्री बजाउँदै नाच प्रदर्शन गरी नगर परिक्रमा गर्दछन् । परिक्रमाका क्रममा श्रद्धालुले दूध, फलफूल, रोटी, दही–चिउरा, खाद्यान्न तथा दक्षिणा दान गर्ने प्रचलन रहँदै आएको छ ।

जात्राका क्रममा नगर परिक्रमा गर्दा वर्षभरि मृत्यु भएका व्यक्तिहरू ‘गाईको पुच्छर समाई वैतरणी पार’ हुन्छन् भन्ने धार्मिक जनविश्वास छ । विशेषतः पितृमोक्षका रुपमा गाईजात्रा पर्वलाई स्थापित गराइएको छ, बनेपाका इतिहासविद् स्व ज्ञानकाजी मानन्धरको बनेपाको इतिहास पुस्तकमा उल्लेख गरिएको छ ।

राजा प्रताप मल्लले पुत्रशोकले भावविह्ल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक ब्यहोर्नुपर्छ भन्ने सन्देश दिन ‘जनतालाई आ–आफ्नो घरका मरेको व्यक्तिको नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनु’ भनी आदेश दिएका आधारमा यो पर्व सुरु गरिएको ऐतिहासिक तथ्य रहेको पाइन्छ । यसबाट पनि रानीको मन शान्त नभएपछि प्रहसन, नाटक र नाच प्रस्तुत गरिएअनुसार गाईजात्रामा प्रस्तुत गर्दै आइएको जनश्रृति रहेको छ । सोही समयमा सुरु गरिएको गाईजात्रा हनुमाढोकास्थित ‘राजप्रासाद’ भएर जानुपर्ने प्रथा हालसम्म जारी रहेको बताइन्छ ।

विशेषगरी काठमाडौँ, भक्तपुर, ललितपुरलगायत नेवारी समदायको बाक्लो बस्ती रहेको स्थानमा मनाइने यो जात्रा काभ्रेपलाञ्चोकमा पनि सोही समयदेखि नै मनाइँदै आइएको हो । पछिल्लो केही वर्षदेखि जिल्लाको अन्य स्थानमसमेत जात्रा विस्तार गरिँदै आइएको छ । ‘क्वाँटी पूर्णिमा’को उपमा दिइने यस जात्रा जनैपूर्णिमाको भोलिपल्ट मनाइने भए पनि तिथिले आज नै परेको बताइन्छ । जनैपूर्णिमा र गाईजात्राको दिन भने क्वाँटी खाने प्रचलन रहँदै आएको छ ।

यसैबीच जनैपूर्णिमा तथा रक्षाबन्धनका अवसरमा तेमाल गाउँपालिकाले धार्मिक जात्रा मनाउन हिजोदेखि तीन दिन सार्वजनिक बिदासमेत दिएको छ । तेमालमा अवस्थित सत्यनारायण मन्दिर परिसरमा जनैपूर्णिमाका अवसरमा परापूर्वकालदेखि नै विशेष धार्मिक जात्रा हुने भएकाले उक्त जात्रामेला तेमालको सांस्कृतिक पर्वका रुपमा विकसित भएको जनाउँदै गाउँपालिकाले बिदा दिएको जनाएको छ ।

उक्त जात्रामा तेमाललगायत आसपासका स्थानीय तह र अन्य छिमेकी जिल्लाबाट समेत दर्शनार्थी उपस्थित भई अनुष्ठान गर्ने गर्छन् । यस जात्रा र मेला मनाउन गाउँपालिकाअन्तर्गतका कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था तथा वडा कार्यालय बन्द हुने सूचनामा जनाइएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलवार ०८:२३