पहिरोले इन्द्रावती नदी थुनियो, सतर्क रहन प्रशासनको अनुरोध
३ भदाै, सिन्धुपाल्चोक । पहिरोका कारण इन्द्रावती नदी थुनिएको छ । सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिकाको वडा नं. १ बाँसखर्कको सालघारीमा सुक्खा पहिरो झर्दा इन्द्रावती नदी थुनिएको हो । पहिरोले नदी आधा थुनिएको छ। गएराति नै इन्द्रावतीमा सुक्खा पहिरो झरेको स्थानीयले बताएका छन ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले तिपेनीभन्दा तलका बस्तीमा सावधानी अपनाउन अनुरोध गरेको छ । एक सूचना जारी गरी प्रशासनले सतर्कता अपनाउन अनुरोध गरेको हो ।
थुनिएको नदी एकै पटक खुल्दा पाँचपोखरी थाङपाल गाउँपालिकाको वडा नं. १ र ८ एवं मेलम्ची नगरपालिकाको मेलम्ची बजारलाई असर गर्ने प्रशासनले जनाएको छ। सुख्खा पहिरो खसेको डाँडोमा अझै धेरै चर्केर बसेको ढिस्को रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार १८:५८