बागलुङको बोङ्गाखोलामा पक्की पुल निर्माण
३२ साउन, बागलुङ । तमानखोला गाउँपालिका–१ बोङ्गादोभानमा साना तथा मझौला सवारीसाधन सञ्चालन गर्न मिल्ने पक्की पुल दुई करोड ७१ लाख २७ हजार ९६४ मा निर्माण भएको छ ।
तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले लामो समयको प्रयासपछि बोङ्गाखोलामा पुल निर्माण भएको बताउनुभयो । गाउँपालिकामा सबै याममा सवारी साधन सञ्चालन गर्न अझै आठ वटा पुल निर्माण गर्न बाँकी रहेको उहाँले बताउनुभयो । गाउँपालिकाले गत आर्थिक वर्षमा रु ८७ लाख ६७ हजार नौ सय २६ को लागतमा भिकोसघाटमा पक्की पुल निर्माण गरेको जानकरी दिनुभयो ।
चारवर्षअघि २०७९ चैत ३० भित्रमा निर्माण पूरा गर्नेगरी निर्माण कम्पनी कान्तिपथ कन्ट्रक्सनसँग सम्झौता भएको सडक डिभिजन कार्यालयका इन्जिनियर अमर अधिकारीले बताउनुभयो । “ढिलो भएपनि पुल पूरा भयो तर निर्माण कम्पनीलाई रु ६० लाख भुक्तानी गर्न बाँकी छ,” विनियोजित बजेट कम भएकाले भुक्तानीमा समस्या भएको जानकारी दिँदै उहाँले भन्नुभयो ।
प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार ०९:२२