नदीमा आएको छालले कृषि फार्ममा क्षति
२६ साउन, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घिरच्याङमा कालीगण्डकी नदीमा आएको छालले कृषि फार्ममा क्षति पुर्याएको छ । अन्नपूर्ण–२ कटुञ्जको भिरबाट आज कालीगण्डकीमा पहिरो खस्दा खोला पारी रहेको घिरच्याङमा रहेको दाजुभाई कृषि तथा पशुपंक्षी फार्ममा क्षति भएको हो । गएराति भिरबाट कालीगण्डकीमा खसेको पहिरोले ल्याएको छालले आठसय ब्रोइलर जातका कुखुरा भएको खोर भत्किएको अन्नपूर्ण–२ वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार कालीगण्डकीको छालले सो फार्म वरपरको करिब १० रोपनी खेतबारीमा हिलो थुपिएको छ । फार्मका सञ्चालक गोपाल खत्रीले खोरभित्र रहेका सबै कुखरा मरेका र दाना काम नलाग्ने भएको बताउनुभयो । कालीगण्डकीको सतहभन्दा करिब २० मिटर माथिसम्म छाल आएको थियो । जनप्रतिनिधि र प्रहरीको टोलीले १२ लाख बराबरको क्षति भएको अनुमान गरेका छन् ।
प्रकाशित मिति : २६ श्रावण २०८१, शनिबार १६:३९