बैंकक-भैरहवा सातामा चार उडान गर्दै थाइ एयर एसिया
१८ साउन, काठमाडौँ । थाइ एयर एसियाले बैंकक-भैरहवा र बैंकक-काठमाडौंका लागि उडान गर्ने अनुमति पाएको छ।
एयर एसिया समूहको लगानी रहेको थाइ एयर एसियालाई नागरिक उड्डयन प्राधिकरणले बिहीबार भैरहवामा उडान गर्ने अनुमति पाएसँगै अब थाइ एयर एसियाले सातामा तीन दिन काठमाडौं र चार दिन भैरहवाबाट उडान गर्ने भएकाे हो ।
सेप्टेम्बरबाट एयर एसियाले नेपालका लागि दैनिक उडान अनुमति माग गरेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताउनुभयो । थाइ एयर एसियाको मूल कम्पनी एयर एसियाले मलेसियाबाट उडान गर्दा काठमाडौं विमानस्थलको बक्यौता नतिरी बाहिरिएको थियो।
करिब २४ करोड बक्यौता रहेकाले थाइ एयर एसियामार्फत् नेपाल फर्किन चाहे पनि पुरानो बक्यौता नतिरी उड्डयन प्राधिकरणले उडान अनुमति दिएको थिएन । प्राधिकरणका अनुसार पछिल्लो केही महिनादेखि उक्त एयरलाइन्सले नियमित किस्ता बुझाइरहेको छ।
थाइ एयर एसियाले हाल बैंककबाट हङकङ, चीन, कम्बोडिया, सिंगापुर, भारत, भियतनाम, इन्डोनेसिया, लाओस र श्रीलंकालगायतका एसियाली मुलुकमा उडान गर्दै आएको छ।
प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार १४:१६