फेदी खोला हाइड्रोमा वाणिज्य बैंकले ऋण लगानी गर्ने, आईपीओको तयारी
१७ साउन, काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले फेदी खोला हाइड्रोमा ५० करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ । फेदी खोला हाइड्रो पावर कम्पनी प्रा.लिले फेदी खोला, थुम्लुङ्गमा ४.३ मेगावाट क्षमताको जलविद्युत आयोजना बनाउने भएकाे छ ।
उक्त आयोजनाका सन्दर्भमा राजधानीमा बिहीबार राष्ट्रिय वाणिज्य बैंक र कम्पनीविच लगानी सम्झौता सम्पन्न भएको छ । सम्झौतामा वाणिज्य बैंकका तर्फबाट पूर्वाधार बैकिङ्ग विभाग प्रमुख दामोदर ज्ञवाली र कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलालले हस्ताक्षर गर्नुभएकाे छ ।
कम्पनीले सम्झौता बमाेजिम भोजपुर जिल्लाको साल्पा सिलिछो गा.पा. वडा नं. ६ मा निर्माणाधीन ४.३ मेगावाटको फेदी खोला (थुम्लुङ्ग) जलविद्युत् आयोजना बनाउँदैछ ।
लागत ९४ करोड रहेको उक्त आयोजनामा स्वपुँजी लगानी ४४ करोड रुपैयाँ बराबर रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार साउन महिनाको अन्तिमसम्ममा कम्पनीलाई प्रालिबाट लि.मा परिवर्तन गरी ४४ करोड स्वपुँजीको ३० प्रतिशत अर्थात् १३ करोड २० लाख आईपीओ निष्कासन यही आर्थिक वर्षभित्र जारी गर्ने कम्पनिले जनाएकाे छ ।
प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार १७:३३