३ मंसिर २०८१, सोमबार | Mon Nov 18 2024

विमान परिचारिकाले बुझाए पर्यटनमन्त्रीलाई सुझावपत्र

१४ साउन, कामाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) मा लामो समयदेखि कार्यरत विमान परिचारक र विमान परिचारिका ९एयरहोस्टेस०ले सेवासुविधा नपाएको भन्दै सेवा वृत्तिको माग गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेसमक्ष आग्रह गरेका छन् ।

निगमका करार सेवामा कार्यरत एयरहोस्टेसको टोलीले आज पर्यटनमन्त्री पाण्डेलाई उहाँको कार्यकक्ष सिंहदरबारमा भेटी मागसहितको १२ बुँदे सुझावपत्र बुझाएका हुन् । निगममा कार्यरत सम्पूर्ण एयरहोस्टेस सेवा प्रवेश गर्दा करारमा रहेको र हाल पनि करारमै काम गरिरहनुपरेको उल्लेख गर्दै जीवनभर नै करार सेवामा बिताउनुपर्दा वृत्तिविकासको चिन्ता र आश्रित परिवार तथा सन्तानको समेत भविष्यलाई दृष्टिगत गरी सेवा वृत्ति गर्न उहाँहरुले माग गर्नुभएको छ ।

एयरहोस्टेसको सुझावपत्र बुझ्दै पर्यटनमन्त्री पाण्डेले मागप्रति सकारात्मक रहेको भन्दै आवश्यक पहल गर्ने बताउनुभएको भेटमा सहभागी ‘क्याबिन क्रू’ एसोसिएसन अफ नेपालका (सिक्यान) का अध्यक्ष प्रभा कार्कीले जानकारी दिनुभयो । आफूहरु कर्मचारी सञ्चयकोषदेखि विभिन्न सेवासुविधाबाट वञ्चित रहेको र अन्यायमा परेकाले समस्या सम्बोधन गरिदिन मन्त्री पाण्डेसमक्ष आग्रह गरिएको उहाँले बताउनुभयो ।

नेपाल एयरलाइन्समा एयरहोस्टेस लामो समयदेखि करारमा कार्यरत छन् । नेपाल एयरलाइन्समा करिब एक सय ७० एयरहोस्टेस रहेको अध्यक्ष कार्कीले जानकारी दिनुभयो । एसोसिएसनका अध्यक्ष कार्की नेतृत्वको करिब ३५ जनाको टोलीले मन्त्री पाण्डेसँग सामूहिक रुपमा भेट गरेको हो ।

नेपाल वायुसेवा निगम ऐन, २०१९ र निगमका कर्मचारीहरुको सेवा, सर्तसम्बन्धी विनियमावली, २०५८ ९संशोधन सहित० अन्तर्गत रही कार्यरत छन् । करार सेवामा नियुक्त गरिएका अन्य कर्मचारीहरुभन्दा एयरहोस्टेसलाई भेदभावको व्यवहार गरिएको एसोसिएसनका अध्यक्ष कार्कीले बताउनुभयो ।

एयरहोस्टेस नेपाल वायुसेवा निगमका कर्मचारीहरुको सेवा, सर्तसम्बन्धी (संशोधन) विनियमावली, २०५८ को विनियमबमोजिम ‘क्याबिन क्रू’ का रुपमा परिभाषित छन्भने विमान चालक (पाइलट) हरु ‘ककपिट क्रू’ का रुपमा छुट्टै परिभाषाअन्तर्गत राखिएको छ । संसारका धेरै मुलुकहरुमा पाइलट र एयरहोस्टेसलाई  ‘फ्लाइड क्रू’ का रुपमा परिभाषा गरी एउटै वर्गको सेवामा राखिएको भन्दै समान व्यवहार गर्न माग गरिएको छ ।

“निगमका पदाधिकारी, कर्मचारी, इन्जिनियर, पाइलट तथा अन्य विभागमा कार्यरत कर्मचारीको सेवा आकर्षक छ, बढुवाको र निवृत्तिभरणको व्यवस्था छभने दुर्घटनामा अशक्त वृत्तिको राम्रो प्रबन्ध छ । सेवाको प्रकृति अनुकूल हामीले विमानको व्यवस्थापनको महत्वपूर्ण सेवा गरेकाले हामीहरुलाई फरक व्यवहार गरिनु र सेवा सर्तका रुपमा ठूलो विभेदको सिकार हुनुले हामीलाई गम्भीर पीडा दिँदै आएको छ”, सुझावपत्रमा उल्लेख छ ।

‘एयरहोस्टेसलाई कुनै सेवा र सुविधाको सुनिश्चितता नुहनु, दुर्घटनामा पर्दासमेत विमान परिचारक र परिचारिकाले कुनै खालको अशक्त वृत्तिको व्यवस्था नहुने, सेवामा रहँदा समेत बढुवाको व्यवस्था नहुनु, जिन्दगीभर एउटै पदमा उही रुपमा काम गर्नु, र निस्केको दिन खाली हात निस्कनुपर्ने’ विनियमावलीको व्यवस्थाले पीडा दिएको उहाँहरुको गुनासो छ । एयरहोस्टेस विगत १७ वर्षदेखि एउटै पदमा  कार्यरत रहेका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार १५:४६