११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

प्रतिनिधि सभाको बैठक बस्दै, यी हुन् कार्यसूची

१४ साउन, काठमाडौँ । सोमबार दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा  स्वास्थ्य तथा जनसंख्या र कृषि तथा पशुपंक्षी विकास सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ ।

सभामुख घिमिरेले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम २८ को उपनियम (२) बमोजिमको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा रहने सदस्यहरूको नाम प्रस्ताव गर्ने तथा राष्ट्रिय सभामा उत्पत्ति भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथी विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची समेत रहेको छ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक, २०८० लाई छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस् भनी प्रस्ताव प्रस्तुत गर्नुका साथै सांसद डा. तोसिमा कार्कीले विपद् व्यवस्थापनमा पुनरवलोकन तथा स्वास्थ्य सङ्कट पूर्व तयारी सम्बन्धमा छलफल गर्न आवश्यक रहेको प्रस्ताव पनि प्रस्तुत गर्नेछिन् ।

प्रकाशित मिति : July 29, 2024 at 10:29 am