२३ भाद्र २०८१, आईतवार | Sun Sep 8 2024

पहिराेले नहर पुरिँदा स्याङ्जाको चापाकोटमा पाँच सय हेक्टर जमिन बाँझो

१२ साउन, काठमाडौँ । पहिराले नहर पुरिँदा स्याङ्जाको चापाकोटमा झण्डै पाँच सय हेक्टर जमिन बाँझो भएको छ । चापाकोट नगरपालिका–४ दार्सिङस्थित ज्याग्दीखोलामा बाँध बाँधेर २७ किलोमिटर टाढाबाट सिँचाइका लागि पानी ल्याइएको नहर पहिराले पुरिँदा खेतीयोग्य जमिन बाँझो रहेको हो ।

गत असार २२ गते अविरल वर्षासँगै आएको पहिराले ठूला ढुङ्गा ल्याइ नहर पुरिएको थियो । अहिले पनि नहरबाट पहिरो हटाउन नसकिएकाले पानी सञ्चालन गर्न नसकिएको चापाकोट टार सिँचाइ योजना जल उपभोक्ता समितिका अध्यक्ष कृष्णप्रसाद सुवेदीले बताउनुभयो ।

“गत असार २२ गते विभिन्न ठाउँमा नहरको माथिल्लो भागबाट ठूला ढुङ्गासहितको पहिरा आएर पुरिएको छ”, उहाँले भन्नुभयो, “ससाना पहिराहरु त हटायौँ तर ठूला ढुङ्गासहितको पहिरा हटाउन पटकपटक प्रयास गरिएता पनि सकिएको छैन ।”

नहरको छ किमी तीन सय मिटरको दूरीमा रहेको भुङ्दी र चार किलोमिटर नौ सय ५० मिटरको दूरीमा रहेको डाङ्ग्रेपानी भन्ने ठाउँमा ठूला ढुङ्गासहितको पहिराले नहर अवरुद्ध भएको उहाँले बताउनुभयो ।

“स्थानीय खोला खोल्साको पानीले करिब पाँच सय हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ”, उहाँले भन्नुभयो, “बाँकी रहेको पाँच सय हेक्टर क्षेत्रफलमा रोपाइँ गर्नका लागि नहर चल्नैपर्छ, वर्षा नभएमा र नहर नचलेमा अहिले रोपिएको धान खेतमा धाँजा फाट्छन् ।”

पहिराले नहरमा ठूला ढुङ्गा ल्याउँदा त्यसलाई हटाउन समस्या भएको नगर प्रमुख देवबहादुर खाँणले बताउनुभयो । “पहाडको भिरालो भागमा नहरभन्दा माथिबाट ठूला ढुङ्गा आएर अड्किएको छ” उहाँले भन्नुभयो, “मान्छे लगाएर, फोडेर हटाउन सकिने अवस्था छैन, त्यहाँ डोजरलगायतका साधनहरु जाने ठाउँ पनि छैन ।”

नगरपालिकाको पहलमा ढुङ्गा हटाउनका लागि नगरस्तरीय विपद समिति, जिल्ला विपद व्यवस्थापन समिति, जिल्ला सुरक्षा समिति, गण्डकी प्रदेशका मुख्यमन्त्री, सिँचाइ, ऊर्जालगायतका मन्त्रालय र केन्द्रमा गृह, उर्जा, रक्षा मन्त्रालयहरुमा पटक–पटक जानकारी र छलफल जारी रहेको उहाँले बताउनुभयो ।

“स्थानीय स्रोत र साधनको प्रयोग गरी ढुङ्गा हटाउन सकिने स्थिति देखिएन”, उहाँले भन्नुभयो, “ठूला ढुङ्गा हटाउने एकमात्रै विकल्प भनेको विष्फोटक पदार्थको प्रयोग गरी ढुङ्गा फुटाल्नु हो, त्यसका लागि नेपाली सेनासित निरन्तर छलफल जारी रहेको छ ।”

नेपाली सेनाले सम्बन्धित ठाउँको वस्तुस्थिति अध्ययन गरिसकेकाले अब छिट्टै ढुङ्गा हटाएर नहर सञ्चालन गर्न सकिन्छ । पहिराले नहर पुरिएको स्थानमा ढुङ्गा फुटाल्नका लागि आवश्यक पर्ने विष्फोटक पदार्थसमेत हेलिकप्टरको प्रयोग गरी लैजानुपर्ने स्थिति रहेको उहाँले बताउनुभयो ।

“साउनको दोस्रो साता भइ सक्दा धान रोप्न ढिलाइ नहोस् भनेर भुङ्दी खोलाको पानीले रोप्न सुरु गर्न भनेका छौँ”, उहाँले भन्नुभयो, “अब केही दिनमा नहर सञ्चालनका लागि हामी निरन्तर लागि रहेका छौँ ।”

विष्फोटक पदार्थ नेपाली सेनाबाहेक अरुले प्रयोग गर्न नपाउने र प्रक्रिया झण्झटिलो र लामो हुने भएकाले नहर सञ्चालनमा ढिलाइ भएको गण्डकी प्रदेशका पूर्वसांसद भागवतप्रकाश मल्लले बताउनुभयो । विष्फोटक पदार्थको प्रयोग गर्नुपर्ने भएकाले त्यसको लागत स्टिमेट नेपाली सेनाले उपलब्ध गराउने र स्रोतको सुनिश्चितता गरी काम अगाडि बढाइने उहाँले बताउनुभयो ।

“नहर सञ्चालन गर्न चापाकोट नगरपालिका, गण्डकी प्रदेश सरकार तथा अन्य सरोकारवालाका तर्फबाट निरन्तर पहल भइरहेको छ”, उहाँले भन्नुभयो, “विष्फोटक पदार्थको प्रयोग गरी ढुङ्गा हटाउनका लागि प्रक्रिया अन्तिम चरणमा पुगेकाले केही दिनभित्रै नहर सञ्चालन भई रोपाइँ गर्न सकिन्छ ।”

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार १३:०९