२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यले लिए सपथ

११ साउन, काठमाडौँ । राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्रा डा शिवराज अधिकारी र सदस्यहरूले शुक्रबार पद तथा गोपनियताको सपथ लिनुभएको छ । शुक्रबार अपरान्ह प्रधानमन्त्री एवं आयोगका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष अधिकारी र उपाध्यक्ष अधिकारीले अन्य सदस्यलाई सपथ गराउनुभयो ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक समेत रहनुभएका डा अधिकारी बिहीबार उपाध्यक्षमा नियुक्त हुनुभएको थियो । साथै उपाध्यक्ष अधिकारीसमक्ष आजै आयोगका नवनियुक्त सदस्यहरु डा आरपी विछार, डा रमेशप्रसाद सिंह, डा प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा जयबहादुर टण्डनले पनि पद तथा गोपनीयताको सपथ लिनुभयो । आजको सपथमा आयोगका नवनियुक्त सदस्य गङ्गादत्त अवस्थी भने अनुपस्थित हुनुहुन्थ्यो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले नवनियुक्तहरुमा हार्दिक बधाई र शुभकामना दिँदै उपाध्यक्ष र सदस्यहरूको कार्यकाल देशको समग्र विकासको योजना कार्यान्वयनमा नमूनायोग्य बन्न सक्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘मुलुकको मनोबल कमजोर भएको बेला १६ औं आवधिक योजना बनेकाले समृद्ध नेपालका हाम्रा नीति, योजना र गन्तव्यलाई बहुपक्षीय योजनासँग तालमेल गरेर जानुपर्ने छ । उत्पादन वृद्धि र मानवीय एवं भौतिक विकासलाई एकैसाथ अगाडि लानुपर्नेछ । तपाईंहरुले समन्वयात्मकरूपमा काम गर्नुहोला ।’

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार १८:५५