२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

उच्च पाँच पदका पहिलो महिला र चौँथो पटक प्रधानमन्त्री बनेका केपी शर्मा ओलीको संयोग

११ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र पाँच उच्च पदमा नियुक्त भएका पहिलो महिलाको सम्बन्धमा गजको संयोग देखिएको छ । यसले  प्रधानमन्त्री केपी शर्मा ओलीले महिलालाई उच्च पदहरूमा पदस्थापना गर्न निर्णय भूमिका खेलेको देखिएको छ।

नेपालको उच्च पद मानिने राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश र कर्मचारी प्रशासनको प्रथम व्यक्ति मुख्यसचिवमा पहिलो महिला स्थापित हुँदा ती सबै निर्णय र भूमिकामा प्रधानमन्त्री केपी शर्मा ओली देखिएका छन ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारको मुख्यसचिवमा लीलादेवी गड्तौलाई नियुक्त गरेपछि ओलीले महिला नेतृत्व स्थापित गर्न गरेको भूमिका र संलग्नताको विषयमा अहिले सामाजिक सञ्जालमा चर्चा भैरहेको छ ।

ओलीले प्रधानमन्त्री भएकै समयमा माओवादी केन्द्रसँगको सहकार्यमा ओनसरी घर्तीलाई पहिलो महिला सभामुख बनाउन भूमिका खेले । २०७२ असोज २९ गते घर्ती नेपालको सभामुख निर्वाचित भएकी थिइन । त्यसबेला उनी एमालेसहितका दलको समर्थनमा सभामुखमा विजयी भएकी थिइन ।

त्यस्तै ओली आफैँ अध्यक्ष रहेको संवैधानिक परिषद्को बैठकले २०७३ असार २७ मा सुशीला कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्त गरेको थियो । सुशीला कार्कीलाई प्रधानन्यायाधीशमा मात्र ओलीले नियुक्ति गरेनन्, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले बिनाआधार महाअभियोग लगाएर पदमुक्त गर्न खोज्दा उनै ओलीले जोगाउने काम समेत गरेका थिए ।

त्यस्तै केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला उनकै योजनामा नेपालको पहिलो महिला राष्ट्रपतिमा विद्यादेवी भण्डारी नियुक्त भएकी थिइन । २०७२ कात्तिक ११मा भण्डारी नेपालको दोस्रो र पहिलो महिला राष्ट्रपति निर्वाचित भएकी थिइन ।

यस्तै उनले पहिलो महिला मुख्यमन्त्री पनि नियुक्तिका लागि महत्वपूर्ण भूमिका निर्वाह गरे। नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाइ ओलीले बागमती प्रदेशको मुख्यमन्त्रीमा बनाएका थिए । ओली नै अध्यक्ष रहेको एमालेको निर्णयमा २०७८ भदौ २ गते शाक्य बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएकी थिइन ।

उनै ओलीले यही साउन १० गते एक महिनामा अनिवार्य अवकाशमा जान लागेकी लीलादेवी गड्तौलाई पहिलो महिला मुख्यसचिवमा नियुक्त गरेका छन ।अहिले सामाजिक सञ्जालमा ओलीले महत्वपूर्ण पदहरूमा महिलालाई स्थापित गर्न खेलेको भूमिकाको प्रशंशाको बाढी नै चलेको छ ।

यही बीचमा प्रधानमन्त्री ओली स्वयंले पनि खुशी व्यक्त गर्दै भनेका छन, ‘सामाजिक सञ्जालमा हिजो धेरै साथीहरुले उच्च नेतृत्वमा पुगेका नेपाली महिलाको विषयमा लेखेको देखें। आफ्नो सकारात्मक पहलमा भएका यी चार संयोगहरुले मलाई पनि खुसी लागेको छ।’

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार ०७:५६