अटोमोबाइल क्षेत्रका समस्याहरू हटाउन प्रधानमन्त्री ओली सकारात्मक
८ साउन, काठमाडौँ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको छ । उक्त भेटमा प्रधानमन्त्रीसँग अध्यक्ष चौधरीले अटोमोबाइल व्यवसायको क्षेत्रमा देखा परेका समस्याहरूबारे संक्षिप्त रूपमा प्रस्तुत गरे । उनले सरकारको हालका कार्यविधिहरूले गर्दा अटोमोबाइल व्यवसायीहरू निरुत्साहित बन्दै गएको बताउँदै नेपालको अटोमोबाइल व्यवसायलाई उकास्न आवश्यक नीतिगत सुझावहरू पेश गरेका छन् ।
विशेषगरी अटोमोबाइल व्यवसायलाई पुनः गतिशील बनाउन बैंकहरूबाट निजी सवारी साधनको हायर पर्चेस लोन प्रवाह गर्ने र प्रकियामा लोन टू भ्यालू रेसियोको हालको ५० प्रतिशतको सीमालाई वृद्धी गरी ७५ प्रतिशत गरिनुपर्ने अध्यक्ष चौधरीले बताए।
त्यस्तै, चालु पुजी कर्जा मार्गदर्शन २०७९ लागु भएपछि लागू भएको मितिभन्दा अगाडी कर्जा लिएकाहरूलाई त्यो व्यवस्था लागू नहुने तर यो लागू भएको मिति पछि कर्जा लिएकाहरूलाई मात्रै चालु पुजी कर्जा मार्गदर्शन २०७९ लागू हुनेगरी कार्यान्वयनमा ल्याएमा सम्पूर्ण समस्याको समाधान हुने र नेपालमा विद्युतीय सवारी साधनहरूका सम्बन्धमा सरकारले स्थायी प्रकृतिको नीति तथा नियम ल्याउनुपर्ने पनि अध्यक्ष चौधरीले बताए ।
छलफलमा प्रधानमन्त्री ओलीले उद्योगहरूको वर्तमान अवस्थाका सम्बन्धमा विशेष चासो र जिज्ञासा राख्नुका साथै नाडा अध्यक्ष चौधरीले प्रस्तुत गरेका समस्याहरूको समाधानका लागि आवश्यक पहलकदमी लिइने समेत आश्वासन दिएका छन्।
छलफलमा नाडाका सचिव सुरेन्द्र प्रधान, कोषाध्यक्ष मिलनबाबु मल्ल र महासचिव सुरेन्द्रकुमार उप्रेतीको उपस्थिति थियो।
प्रकाशित मिति : July 23, 2024 at 12:16 pm









