१८ भाद्र २०८१, मंगलवार | Tue Sep 3 2024

गुगल नक्सा सर्भे गर्न आएको कारमा आगजनी, रेलको सर्भे भनेर भाइरल बन्यो गाडी

२ साउन, चितवन । भरतपुर महानगरपालिका–७, कृष्णपुरस्थित गुगल नक्सा सर्भे गर्न आएको टोली चढेको कारमा आगजनी भएको छ । स्थानीयले रेलमार्ग सर्भे गर्न आएको आरोप लगाउँदै आगजनी गरेका हुन् । सामाजिक सञ्जाल र केही सञ्चार माध्यमले रेलको सर्भे भनेर गाडीको तस्बिर भाइरल बनाएका छन ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज दिउँसो १ः४५ बजे बागमती प्रदेश ०१–०३०च ७१९० नम्बरको रोकी राखेको कारमा स्थानीयले आगजनी गरेका हुन् ।

एक सय जना हाराहारीका स्थानीय जम्मा भएर कारमा आगो लगाएको उहाँले जानकारी दिनुभयो । आरएस इन्जिनियरिङ सोलुशन प्रालि कालोपुल काठमाडौँबाट दुई जना उक्त कारमा आएका थिए । बाराको जितपुर सिमरा उपमहानरपालिका बस्ने वर्ष २१ का अजित बस्नेत र धादिङ गल्छी गाउँपालिका– ८ बस्ने वर्ष ३५ का कार चालक दिलीप तामाङले कार रोकी सडक सर्भे गर्न गएको बेला कारमा आगजनी भएको थियो ।

आगलागीबाट कार पूर्णरुपमा क्षति भएको छ भने दुवै जनालाई प्रहरीले सुरक्षित राखेको छ । कारमा लागेको आगो भरतपुर महानगरपालिकाको दमकल र प्रहरीको सहयोगमा निभाइएको थियो । गुगल नक्सा सर्भेका लागि उनीहरु आएको आफूलाई बताएको प्रजिअ यादवले बताउनुभयो ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार २३:११