२३ असार २०८१, आईतवार | Sun Jul 7 2024

सहकारी ठगी पत्ता लगाउन निरन्तर छलफलमा संसदीय छानबिन विशेष समिति


२० असार, काठमाडौँ । सहकारी संस्थाको बचत अपचलन सम्बन्धमा अध्ययन गर्न गठित संसदीय छानबिन विशेष समितिले कार्यादेशअनुसार अध्ययन गरिरहेको जनाएको छ । समितिले सरोकार भएका निकायसँग कागजात झिकाउने, ती निकायका अधिकारीको भनाइ सुन्ने र छलफल गरी अध्ययन गरिरहेको समितिका सभापति सूर्य थापाले जानकारी दिएका छन ।

सभापति थापाले सामाजिक सञ्जाल मार्फत बिहीबारको बैठकमा महालेखापरीक्षक, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक, सहकारी विभागका रजिष्ट्रारलगायत सम्बन्धित निकायका कर्मचारीसँग छलफल भएको बताए । शुक्रबार गृहसचिव, प्रहरी महानिरीक्षकलगायत उच्च प्रहरी अधिकारीसँग छलफल गरिने तयारी छ । यही असार २३ गते समिति गठन भएको एक महिना पूरा हुँदैछ ।

समितिका सचिव बबिता मिश्रले असार २३ गते समिति गठन भएको एक महिना पुग्ने र त्यस दिन एक महिनामा भएका उपलब्धि सार्वजनिक गर्ने तयारीसमेत गरिएको जानकारी दिइन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको लामो विरोधपछि एमाले सांसद सूर्य थापाको संयोजकत्वमा प्रतिनिधिसभाबाट छानबिन समिति गठन भएको थियो ।

समितिलाई समस्यामा परेका बचतकर्ताको रकमबारे अध्ययन गरी सिफारिस गर्ने, बचत फिर्ताको अवस्था कहाँ पुगेको छ, सोको अध्ययन गर्ने, रकम हिनामिना भएको भनिएका सहकारीबाट गोरखा मिडिया नेटवर्कमा रकम पठाउँदा कानुन बमोजिम प्रक्रिया पूरा गरी भए/नभएकोलगायतका विषयमा अध्ययन गर्ने जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : २० असार २०८१, बिहीबार १६:३०