२१ असार २०८१, शुक्रबार | Sat Jul 6 2024

‘परिपक्व पत्रकारिताका लागि सम्पादकीय स्वतन्त्रता आवश्यक’


१९ असार, काठमाडौँ । प्रेस काउन्सिल नेपालले परिपक्व पत्रकारिताका लागि सञ्चारमाध्यममा सम्पादकीय स्वतन्त्रता प्रदान गरिनुपर्ने आवश्यकता औँल्याएको छ ।

काउन्सिलद्वारा आज यहाँ आयोजित ‘समाचार सम्पादनमा पत्रकार आचारसंहिताको सवाल’ विषयक अन्तरक्रियामा पत्रकारिताको महत्व र आकर्षण कायम राख्न सूचना तथा समाचार छुट्याएर सम्प्रेषण गर्न सक्नुपर्नेमा जोड दिइयो ।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले मर्यादित र विश्वसनीय पत्रकारिताका लागि प्रत्येक सञ्चारगृहले आ–आफ्नो आचारसंहिता लागू गर्नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “समाचारकक्षमा सम्पादकीय स्वतन्त्रता हुनुपर्छ । बजारमा सूचनाको बाढी छ तर ती सबै सूचना समाचार होइनन् । यसमा ध्यान दिन पत्रपत्रिकालगायत परम्परागत सञ्चारमाध्यमलाई जोगाई राख्न प्रविधिमैत्री बनाउनुपर्छ ।”

शेयर बजार र आर्थिक गतिविधिसँग जोडिएका विषयलाई विशेष रूपमा अध्ययन गर्ने बताउँदै उहाँले पत्रकारिता क्षेत्रलाई सशक्त बनाउन काउन्सिल क्रियाशील रहेको जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले समाचारकक्षमा आउने सूचनालाई गुणस्तरीय बनाउन समाचारमा सम्पादकीय सीप झल्कनुपर्ने सुझाव दिनुभयो । उहाँले समाचार सामग्रीलाई सम्प्रेषणयोग्य बनाउनाका साथै सम्पादकले तत्काल सामाग्री जुटाउने, योजना बनाउने, सहयोग र समन्वय गर्ने क्षमता तथा सक्रियामा पनि ध्यान दिनुपर्ने बताउनुभयो ।

“हामीले दिएका तथ्य र सूचना गलत भएमा न्याय पनि मर्नसक्ने भएकाले स्रोत उल्लेख र पुस्ट्याइँलाई पनि विशेष ध्यान दिनुपर्ने आवश्यकता छ । यसमा सम्पादक र सञ्चारमाध्यम गम्भीर बन्नुपर्छ”, अध्यक्ष पोखरेलले भन्नुभयो ।

काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले आचारसंहिता पालनामा र पत्रकारको क्षमता अभिवृद्धि गर्न÷गराउन मिडियालाई सुझाव दिनुभयो ।

कार्यक्रममा विभिन्न सञ्चारमाध्यमको सम्पादन शाखामा कार्यरत पत्रकारले समाचार सत्यतथ्यमा आधारित हुनपर्ने तथा दिइएका सामग्री भरसक गलत हुन नदिन आफूहरु सचेत रहेको बताउनुभयो । सही सूचना प्रवाह गर्ने समाचारकक्षमा कार्यरत व्यक्तिको भूमिका पर्दा पछाडिका खेलाडीजस्तै हुने भन्दै उहाँहरुले रहने सम्पादकको समयसापेक्ष क्षमता विकासमा सञ्चारमाध्यम र सरोकार भएका निकायले ध्यानदिनुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार १८:०४