२० असार २०८१, बिहीबार | Thu Jul 4 2024

ओलीले सरकार बनाउने, यस्तो छ रामेश्वर थापाको घरमा भएको भागवण्डाको सहमति


१८ असार, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेससहितका दलको समर्थनमा दुई तिहाइ बहुमतसहितको नयाँ सरकार गठन गर्ने भएका छन । सोमबार मध्यरातमा मिडिया उद्यमी समेत रहेका व्यवसायी रामेश्वर थापाको घरमा बसेर एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले नयाँ सत्ता सहकार्यका सन्दर्भको सहमतिमा हस्ताक्षर गरेका छन ।

रामेश्वर थापाको घरको पहिलो तल्लाको बैठक कोठाको सोफामा बसेर ओली र देउवाले सत्ता सहकार्यसहित संविधान संशोधनसम्मको मार्ग निर्देश गर्ने सहमति पत्रमा हस्ताक्षर गरेका छन । उनीहरूले मध्यराति १२ बजेपछि सहमति पत्रमा हस्ताक्षर गरेका थिए । थापा तीनै व्यक्ति हुन जसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीलाई एकै ठाउँमा ल्याउने भूमिका खेलेका थिए ।

मध्यरातमा भएको सहमतिमा पालैपालो सरकारको नेतृत्व गर्ने उल्लेख गरिएको छ । जसअनुसार सुरुको डेढ वर्ष एमाले अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्ने छन्  भने अर्को डेढ वर्ष देउवाले सरकारको नेतृत्व गर्नेछन । दुई दलबीच भएको सहमतिअनुसार एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहमन्त्रीसहित १० वटा मन्त्रालय लिएर सरकारमा काम गर्नेछन ।

नेताहरूले प्रदेश सरकारमा समेत भागवण्डा गर्ने सहमति भएको छ । दुई दलको सहमति अनुसार कोसी, लुम्बिनी र कर्णालीमा एमालेले सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिममा सरकारको नेतृत्व गर्नेछ । मधेश प्रदेशमा भने जनमत वा जसपाले सरकारको नेतृत्व पाउने सहमति भएको छ ।

dainiki.com

कांग्रेस र एमालेको सहमतिका लागि पछिल्लो २४ घण्टा एमालेबाट शंकर पोखरेल, प्रदीप ज्ञवाली र रमेश बडालले काम गरे भने कांग्रेसबाट रमेश लेखक, आरजु राणा र ज्ञानेन्द्रबहादुर कार्कीले काम गरे ।

परमादेश पीडितले न्याय पाए, योजनाकारका लागि रोजगारी

पूर्व प्रधानन्याधीश कल्याण श्रेष्ठको योजनामा तयार भएको सर्वोच्चको तत्कालीन परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएका केपी शर्मा ओली र परमादेशले नै प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवालाई यो सहमतिले एकै ठाउँमा ल्याएको छ ।

देउवा लगायतले परमादेशका लागि चुक्ता गर्न बाँकी रहेको मूल्य समेत यो सहमतिले नै तिर्ने भएको छ । त्यसका लागि संविधान संशोधनका लागि सुझाव आयोग बनाउने र त्यसको अध्यक्षमा श्रेष्ठलाई नियुक्ति दिने विषयमा पनि ओली र देउवा एक मत भएका छन ।

श्रेष्ठलाई यसअघि देउवा र प्रचण्डले मिलेर राष्ट्रपति बनाउने प्रयास गरेको भए पनि अन्तिम समयमा त्यो सफल भएको थिएन । ओली र देउवाकै सहमतिले श्रेष्ठकै प्रतिनिधिको रूपमा निर्वाचन आयोगमा नुवाकोटका कृष्णमान प्रधानलाई नियुक्तिका लागि सिाफरिस गरिसकिएको छ । हुनत नयाँ गठबन्धन बनाउनका लागि एमालेका रमेश बडाल र श्रेष्ठको भूमिका अझै महत्वपूर्ण रहेको राजनीतिक बृत्तमा चर्चा छ ।

११ बुँदामा संविधान संशोधन गर्ने तयारी गरिएको छ भने केही महत्वकांक्षी परिवर्तनको संकेत देखिने गरी काम गर्ने सहमति दलहरूको बीचमा भएको छ । जसमा

१. शासकीय स्वरुप परिवर्तन (प्रत्यक्ष निर्वाचित कार्यकारी वा प्रत्यक्ष निर्वाचित संसदबाटमात्र सरकार गठन)

२. निर्वाचन प्रणाली परिवर्तन

३. दल दर्ता सम्बन्धि नयाँ ऐन

४. दुई तहको संघीयता

५. स्थानीय तहको संख्या ७५३ बाट घटाएर २५०-३०० बनाउने

६. केन्द्रिय धेरै आयोगहरु खारेज गरि ती आयोगहरुको कार्यक्षेत्रलाई मानव अधिकार आयोगको विभाग बनाएर गर्ने ब्यबस्था मिलाउने ।

७. राष्ट्रिय सभा : समानुपातिक समावेशी

८. राष्ट्रियसभा अध्यक्ष : उपराष्ट्रपति

९. संघीय मन्त्रीमण्डल १५ सदस्यीय

१०. जिल्ला सदरमुकामले गर्ने सम्पुर्ण प्रशासनिक काम पालिका स्तरमा गर्ने ब्यबस्था गर्ने

१२. काठमाडौ उपत्यकाका तीन वटै जिल्लालाई एउटै महानगर बनाई सन्चालन गर्ने ।

१३. सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, मकवानपुर, धादिङ र नुवाकोटलाई सुरुङ्ग मार्गबाट जोडेर नयाँ स्याटलाईट शहर विकास गर्ने ।

१४. सार्वजनिक पदमा बस्ने सबैको सम्पत्ति विवरण सार्वजनिक गर्ने कानुन

१५. पिडितले न्याय पाउने प्रत्याभूति सहित न्यायालय सुधार ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलवार ०८:२३