१९ असार २०८१, बुधबार | Wed Jul 3 2024

प्रतिनिधिसभाको सचिव पदमा सुरेश अधिकारी सिफारिस


१७ असार, काठमाडाैँ । प्रतिनिधिसभाको सचिव पदमा सुरेश अधिकारी सिफारिस भएका छन । सभामुख देवराज घिमिरेले संखुवासभा स्थायी घर भएका पूर्वसचिव सुरेश अधिकारीलाई प्रतिनिधि सभाको सचिव पदमा नियुक्तिको लागि सोमबार सिफारिस गरेका हुन ।

सभामुखले राष्ट्रपति समक्ष नेपालको संविधानको धारा १०६ तथा संघीय संसदका महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ३ बमोजिम सङ्खुवासभा जिल्ला खाँदवारी नगरपालिका वार्ड नम्बर २ निवासी अधिकारीलाई प्रतिनिधि सभाको सचिव पदमा नियुक्तिका लागि सिफारिस गरेको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिएका छन ।

प्रतिनिधिसभा सचिव पद्मप्रसाद पाण्डेय संघीय संसदको महासचिव नियुक्त भएपछि २०८० साल माघ २३ देखि सचिव पद रिक्त रहेको थियो । प्रतिनिधिसभाको सचिव सभामुखको सिफारिसमा राष्ट्रपतिले नियुक्ति गर्ने कानुनी प्रावधान रहेको छ ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार १५:५५