१५ असार २०८१, शनिबार | Sun Jun 30 2024

आत्मनिर्भर बन्न प्रेरित गर्ने उद्देश्यले धुलिखेलका १६ सय जनालाई सीपमूलक तालिम प्रदान


१३ असार, काठमाडौँ । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकामा एक हजार छ सयलाई विभिन्न प्रकारका सीपमूलक तालिम प्रदान गरिएको छ । युवालगायतका परिषद् गठन गरी दुई वर्षको अवधिमा सशक्तिकरण, उद्यमशीलता र सीपमूलक क्षेत्रमा उक्त सङ्ख्याका नागरिकलाई तालिम प्रदान गरेको नगरले जनाएको छ । नगरबासीलाई आधुनिक तरिकाले सीप सिकाएर आर्थिकरुपले सशक्त बनाइ आत्मनिर्भर बन्न प्रेरित गर्ने उद्देश्यले विभिन्न सीपमूलक तालिम प्रदान गरिएको जनाइएको हो । विभिन्न क्षेत्रमा उत्पादनमूलक एवं रोजगारमूलक तालिम दिई दक्षजनशक्ति निर्माणका लागि तालिम प्रदान गरिएको नगर प्रमुख अशोक ब्याञ्जूले बताउनुभयो ।

“सीप सिकेर उद्यम गर्छु भन्नेका लागि उद्यमशीलतासहितको सहुलियत र अनुदानमा पुँजी र प्रविधि उपलब्ध गराएका छौँ, बेरोजगारी न्यूनीकरण गरी रोजगारी दिलाउन तथा आफैँ उत्पादनमूलक क्षेत्रमा लागि रोजगार सिर्जना गर्न विभिन्न आयमूलक र सीपमूलक तालिम उपलब्ध गराउने हाम्रो अभियान निरन्तर जारी छ”, उहाँले भन्नुभयो ।
नगर प्रमुख ब्याञ्जूका अनुसार उद्यमशीलतासहितको सीपमूलका तालिम र सशक्तिकरणले नगरवासी सचेत र आत्मनिर्भर बन्ने विश्वास लिइएको छ । हाल नगरको युवा परिषद्द्वारा आयोजित ड्राइभिङ, बेकरी तथा मोबाइल मर्मतसम्बन्धी एक सय ६० घण्टे तालिम सकिएको छ ।

नगरले हरेक नागरिकलाई आफ्नो रुचिको क्षेत्र छनोट गरी सीप सिकेर उद्यमी तथा रोजगार बन्न अपिल गर्दै आएको छ । युवा परिषद्मार्फत चालु आर्थिक वर्षमा पनि करिब दुई सय युवालाई बेकरी, मोबाइल मर्मत र ड्राईभिङसम्बन्धी तालिम प्रदान गरिएको छ । परिषद् उपाध्यक्ष सिबी तामाङले विशेषगरी युवा वर्गलाई सशक्तिकरण र सीप सिकेर आत्मनिर्भर बन्न सहयोग पु¥याउने उद्देश्यले फरक–फरक तालिम आयोजना गरेको बताउनुभयो ।

“नगरका तालिमले स्वदेशमा उद्यम गर्न चाहने तथा विदेशमा जान चाहनेका लागि सहज र सरल हुने गरेको छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार आधारभूत तालिमपछि एड्भान्स तालिमको पनि तयारी गरिएको छ ।

यसैबीच जिल्लाको मण्डनदेउपुर नगरपालिकाले विभिन्न सीपमूलक तालिममार्फत लद्युउद्यमका लागि ८० जना नयाँ उद्यमी जनशक्ति तयार पारेको छ । नगरको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमअन्तर्गत एक वर्षको अवधिमा ८० महिला तथा पुरुषलाई उद्यमी बनाइएको हो ।

कार्यक्रमअन्तर्गत नगरले विभिन्न समयमा सिलाइ–कटाइ, गलैँचा बुनाइ, ब्यूटिसियन र मोटरसाइकल वर्कशपको एक÷एक महिना तालिम प्रदान गरेको थियो । त्यसैगरी, बाख्रापालन र तरकारी खेतीसम्बन्धी पाँच÷पाँच दिनको तालिम सञ्चालन गरिएको थियो । ४० महिलाका लागि एड्भान्स सिलाइकटाइ तालिमसमेत प्रदान गरिएको जनाइएको छ ।

“सीपमूलक तालिमप्राप्त स्थानीयले स्वरोजगार हुनुभएको छ, नगरमा नयाँ उद्यमी थपिएकोमा खुसी छौँ”, नगरप्रमुख टोकबहादुर वाईबाले भन्नुभयो । उहाँले एक महिनाको सिलाइकटाइ तालिम पूरा गरेकालाई थप दुई महिनाको एड्भान्स तालिम दिने तयारी भएको बताउनुभयो ।

यस्तै सिलाइकटाइ, गलैँचा बुनाइ र ब्यूटिसियन तालिममा महिला मात्र सहभागी थिए । नगरले एड्भान्स तालिमको व्यवस्थापन गर्नेछ भने मेसिन खरिदमा साझेदारी गर्ने जनाएको छ । नगरले अब लघुउद्यम कार्यक्रमर्फत समाजमा पछिपरेका वर्ग र समुदायलाई पहिलो प्राथमिकताका दिइने जनाएको छ ।

प्रकाशित मिति : १३ असार २०८१, बिहीबार १३:१५