१३ असार २०८१, बिहीबार | Thu Jun 27 2024

कमला नदीको पुल भासिएको तीन वर्ष बितिसक्दा पनि निर्माण हुन सकेन


६ असार, काठमाडौँ । धनुषा र सिरहालाई जोड्ने कमला पुल यस वर्ष पनि नबन्ने भएको छ । निर्माण सम्पन्न भएर उद्घाटन हुनुअगावै भासिएको उक्त पुल तीन वर्ष बितिसक्दा पनि निर्माण हुनसकेको छैन ।

गत चैत १८ गते पुलको निरीक्षण गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले ठेकेदारलाई असार १५ गतेसम्म पुल निर्माण सम्पन्न गर्न निर्देशन दिनुभएको थियो । उपप्रधानमन्त्रीसमेत रहनुभएका महासेठले दिनुभएको म्याद सकिन एक हप्ता बाँकी रहँदासम्म पुल निर्माणको प्रगति भने शून्य छ ।

“करिब १३ वर्षदेखि निर्माणाधीन यो पुलको पुनःनिर्माण समयमै हुनुपर्यो । नभए निर्माण कम्पनीलाई कारबाही गरी नयाँ प्रक्रिया अगाडि बढाउनुस्”, पुलको निरीक्षण गर्दै उपप्रधानमन्त्री महासेठले भन्नुभएको थियो ।

वर्षा सुरु भएसँगै बाढीको जोखिम बढेकाले पुल निर्माण यस वर्ष सम्पन्न हुन नसक्ने हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामका निर्देशक कृष्णकुमार महतोले बताउनुभयो ।

मधेस प्रदेशको ‘लाइफ लाइन’ मानिने कमला पुल चार सय ७० मिटर लामो छ । विसंं २०६८ जेठ ३१ मा ४२ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी पप्पु–लुम्बिनी जेभीसँग ठेक्का सम्झौता भएको थियो । सम्झौता भएको सात वर्षसम्म पनि पुल निर्माण नभएपछि हुलाकी राजमार्ग सडक निर्देशनालयले उक्त निर्माण कम्पनीसँग ठेक्का तोडेर निर्माणको जिम्मा लुम्बिनी बिल्डर्सलाई दिएको थियो ।

बिल्डर्सको कमाण्डमा निर्माण अन्तिम चरणमा पुगिसकेकाले विसं २०७८ साउनमा उद्घाटनको तयारी गरिसकेको अवस्थामा पुल भासिएको निर्देशक महतोले बताउनुभयो । उहाँका अनुसार १३ पाया ९पिलर० र १२ स्पान ९स्ल्याब० रहेको पुलको सिरहातर्फको दोस्रो र धनुषातर्फको चौथो पाया भासिएको थियो ।

पुल भासिएपछि निर्माण कम्पनी र बीमा कम्पनीबीचको विवादले हालसम्म काम रोकिएको निर्देशक महतोको भनाइ छ । “सरकारी निकायको कुनै पनि ठेक्का गर्दा रु १० लाखभन्दा बढीको आयोजनामा बीमा गराउनुपर्ने प्रावधान छ । सोही प्रावधानअनुसार पुल निर्माण कम्पनीले बीमा गराएको थियो । पुल भासिएपछि बीमा कम्पनीले क्षतिपूर्ति नदिएपछि सोही विवादका कारण काम रोकिएको छ”, उहाँले भन्नुभयो ।

निर्माण कम्पनीका प्रबन्ध निर्देशक विष्णु शर्माले यो वर्ष पुल निर्माण सम्पन्न गर्न सम्भव नरहेको बताउनुभयो । पुल पुनःनिर्माण गर्न हालसम्म डिजाइन पास नभएकाले निर्माण सम्भव नरहेको उल्लेख गर्नुभयो ।

“पेस गरिएको डिजाइनमध्ये एउटा धनुषातर्फको पास भएको छ । केही दिनअघि मात्रै कम्पनीका तर्फबाट तयार गरिएको डिजाइन मन्त्रालयमा बुझाएका छौँ । सिरहातर्फको डिजाइन पास भएको छैन । अनि कसरी यो वर्ष काम हुन्छ रु”, प्रबन्ध निर्देशक शर्माले प्रश्न गर्नुभयो । वर्षामा नदीमा बाढी आउन सक्ने भएकाले आगामी असोज÷कात्तिकबाट निर्माण अगाडि बढाइने उहाँको भनाइ छ ।

यही असार मसान्तसम्म निर्माणको म्याद रहेको भन्दै प्रबन्ध निर्देशक शर्माले म्याद थप गरी सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले बीमा कम्पनीसँग उच्च अदालत काठमाडौँमा मुद्दा चलिरहेकाले निर्माणमा ढिलाइ भएको तर्क गर्नुभयो ।

प्रबन्ध निर्देशक शर्माका अनुसार पुल भासिएपछि बीमा कम्पनीसँग रु १२ करोड क्षतिपूर्तिको माग गरिएको थियो । बीमा कम्पनीले रु दुई करोडमात्रै दिने भनेपछि, कम्पनीविरुद्ध उजुरी दिएका छौँ”, उहाँले भन्नुभयो, “उजुरीका आधारमा समस्या समाधान नभएपछि उच्च अदालत गएका हौँ । उच्च अदालतमा गत जेठ तेस्रो साता मुद्दा दर्ता गराएका छौँ ।” अहिले पुलमा सामान्य निर्माण भने भइरहेको उहाँले बताउनुभयो ।

कमला नदीमा पुल नबन्दा धनुषा र सिरहाका नागरिकको जनजीवन प्रभावित हुँदै आएको सिरहा नगरपालिका–१७ का प्रविन यादवले बताउनुभयो । “पुलका कारण बर्खाको समयमा आफ्नै खेतबारीमा पुग्न पनि गाह्रो हुन्छ । आवागमनमा सास्ती हुनुका साथै यस क्षेत्रको आर्थिकस्तर, व्यापार–व्यावसायमा कमी हुँदै आएको छ”, उहाँले भन्नुभयो ।

यहाँका सर्वसाधारणलाई प्रदेशको राजधानी जनकपुरधाम आवतजावत गर्न निकै सास्ती भोग्नु परिरहेको छ । बाढीले आवतजावत प्रभावित भएपछि सिरहाका नागरिक गम्भीर प्रकृतिको उपचार गराउन जनकपुरधाम वा कोशी प्रदेशको राजधानी विराटनगर पुग्न समस्या हुने गरेको यादवको भनाइ छ ।

सिरहाबाट जनकपुरधाम पुग्न हुलाकी राजमार्गबाट ३० किलोमिटर पर्दछ भने महेन्द्र राजमार्ग भएर जाँदा ९० किलोमिटर पर्दछ ।

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार १६:३६