९ असार २०८१, आईतवार | Sun Jun 23 2024

स्कटल्यान्डले अष्ट्रेलियालाई दियो १८१ रनको लक्ष्य


२ असार, काठमाडाैँ । आईसीसी टी २० विश्वकपअन्तर्गत स्कटल्यान्डले अष्ट्रेलियालाई १८१ रनको लक्ष्य दिएको छ । सेन्ट लुसियामा आइतबार बिहान टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले २० ओभरमा ५ विकेट गुमाउँदै १८० रन बनाएको हो ।

स्कटल्यान्डका युवा अलराउण्डर ब्रेन्डन म्याकमुलेनले ३४ बलमा २ चौका र ६ छक्कासहित सर्वाधिक ६० रनको योगदान दिए । जर्ज मुन्शे २३ बलमा २ चौका र ३ छक्कासहित ३५ रनमा आउट भए । कप्तान रिची बेरिंग्टन ३१ बलमा ४२ रन बनाउँदै नट आउट रहे । म्याथ्यु क्रस १८ र माइकल लिक्स ५ रनमा आउट भए ।

अष्ट्रेलियाका ग्लेन म्याक्सवेलले ४ ओभरमा ४४ रन खर्चेर २ विकेट लिए । एश्टन अगर, नाथन एलिस र एडम जाम्पाले १-१ विकेट लिए ।

समूह बी मा स्कटल्यान्ड ३ खेलमा २ मा जित र १ खेल नतिजाविहीन हुँदा ५ अंकका साथ नेटरनरेटका कारण तेस्रो स्थानमा छ । ४ खेलमा ५ अंक भएको इंग्ल्यान्डको नेटरनरेट ३.६११ र स्कटल्यान्डको २.१६४ छ । स्कटल्यान्ड विजयी भएमा सुपर-८ मा पुग्नेछ ।

स्कटल्यान्ड पराजित हुँदा इंग्ल्यान्ड सुपर-८ मा पुग्नेछ । अष्ट्रेलिया सुरुवाती तीन खेलमा जितका साथ सुपर-८ मा पुगिसकेको छ ।

प्रकाशित मिति : २ असार २०८१, आईतवार ०९:०१