३ फाल्गुन २०८२, आईतवार | Sun Feb 15 2026

विराटनगरलाई सुन्दर सहरका रुपमा विकास गर्न सौन्दर्यीकरणकाे शुभारम्भ

१ असार, काठमाडाैँ । विराटनगरलाई सुन्दर सहरका रुपमा विकास गर्ने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यीकरण परियोजनाको आज शुभारम्भ गरिएको छ ।

महानगरपालिका प्रमुख नागेश कोइरालाले विराटनगर–६ र ९ स्थित भट्टीचोकमा रहेका डिभाइडरको बीचमा आज फूलको बिरुवा रोपेर अभियानको शुभारम्भ गर्नुभएको हो । महानगर प्रमुख कोइरालाले रोपिएका फूल एवं बिरुवा संरक्षणका लागि नगरवासीलाई आग्रह गर्दै आगामी दिन थप अन्य क्षेत्रमा सौन्दर्यीकरण अभियान सञ्चालन गरिने र यसलाई नगरको गहनाका रुपमा लिनुपर्ने बताउनुभयो ।

महानगरमा रहेका वित्तीय संस्थाको सहयोगमा वरगाछीदेखि रानीसम्म पाँच किलोमिटर क्षेत्रमा रु ५५ लाखको लागतमा आगामी एक वर्षभित्र ४६ वटा मिडियम (डिभाइडर) सडक सौन्दर्यीकरण अभियान सम्पन्न गरिने  अभियान उपभोक्ता समितिका अध्यक्ष बेनीगोपाल मुण्दडाले जानकारी दिनुभयो ।

मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई र महानगरकी उपप्रमुख शिल्पा कार्कीले नगर क्षेत्रलाई हराभरा बनाउन यस कार्यले मद्दत पुगेको बताउनुभयो ।फूल र बिरुवाको सुरक्षाका लागि तारजाली लगाउन, फूल रोप्ने ठाउँमा खाल्डो खन्ने, मल लगाउनेलगायत कार्य सम्पन्न भएको छ ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार १५:२३