२ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026

जैविक विविधता संरक्षणका लागि वन्यजन्तुमैत्री पूर्वाधार अपरिहार्य भएकामा जोड

३० जेठ, काठमाडौँ । वातावरणविद् र सरोकारवाला निकायका प्रतिनिधिले जैविक विविधता संरक्षणका लागि वन्यजन्तुमैत्री पूर्वाधार अपरिहार्य भएकामा जोड दिएका छन् । लामो वा रेखिए पूर्वाधार निर्माण गर्दा वन्यजन्तु सजिलै र स्वतन्त्ररूपमा ओहोरदोहोर गर्नसक्ने पूर्वाधार निर्माण गर्नुपर्ने, वन्यजन्तुको वासस्थान, गतिविधिलगायत अध्ययन गरेर मात्र ‘अन्डरपास’ र ‘ओभरपास’ बनाउनुपर्ने उनिहरुको सुझाव छ ।

नेपाल वातावरण पत्रकार समूह ९नेफेज०ले आज काठमाडौँमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनिहरुले वन्यजन्तुमैत्री पूर्वाधार सुरुमा तुलनात्मक महँगो देखिए पनि वन्यजन्तु र संरक्षण क्षेत्रको दिगो व्यवस्थापनका दृष्टिकोणले भविष्यमा सस्तो हुन जाने उल्लेख गरेका छन् । कार्यक्रममा विश्व वन्यजन्तु कोष ९डब्लुडब्लुएफ० नेपालको ‘अलाइन परियोजना’का प्रमुख सन्देशसिंह हमालले पूर्वाधार विकास र वातावरण संरक्षण सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिए ।

“उक्त परियोजनाले नेपाल, भारत र मङ्गोलियामा वन्यजन्तुमैत्री पूर्वाधारका लागि नीतिगत सहयोग, सरोकारवालासँग अन्तरक्रिया र क्षमता अभिवृद्धि गर्ने काम गर्दै आएको छ ।”

वन्यजन्तुमैत्री पूर्वाधार निर्माण वन्यजन्तुका लागि मात्र नभइ मानिस र घरपालुवा जनावरको सुरक्षाका लागि पनि आवश्यक छ । मानिसले गर्ने यातायातको सुरक्षाका लागि पनि यस्ता पूर्वाधार आवश्यक छन् । नेपालमा रहेका एक सय १८ किसिमका पारिस्थितिकीय प्रणालीमध्ये हालसम्म ८० किसिमका पारिस्थितिकीय प्रणाली संरक्षित क्षेत्रभित्र पर्दछन् । यी पारिस्थितिकीय प्रणालीको संरक्षण तथा व्यवस्थापन गर्ने उद्देश्यले १२ राष्ट्रिय निकुञ्ज, एक वन्यजन्तु आरक्ष, एक सिकार आरक्ष, ६ संरक्षण क्षेत्र र १३ मध्यवर्ती क्षेत्र घोषणा भई संरक्षण तथा व्यवस्थापकीय कार्य सञ्चालन हुँदै आएका छन् ।

कार्यक्रममा वन विज्ञान अध्ययन संस्थानका सहायक डिन डा सोनी बराल गौलीले वन्यजन्तुमैत्री पूर्वाधार नीति र योजनामा सहयोग गर्नका लागि आफूहरुले वन विज्ञानमा स्नातकोत्तर तहको पाठ्यक्रममा सो विषयलाई समावेश गरेको बताए । उनले भने, “उक्त अध्ययन गरेको व्यक्ति नीतिगत तहमा पुग्दा निकुञ्ज, आरक्ष, जैविक मार्ग र संरक्षण क्षेत्रमा पर्ने सडक, रेलमार्ग, नहर, नदी नियन्त्रणसम्बन्धी बाँध, तटबन्ध, विद्युत् आयोजनाका बाँधलगायत पूर्वाधारका योजना बनाउँदा सहज हुन्छ ।”

वातावरणमैत्री पूर्वाधार निर्माण गर्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, सडक विभाग, केन्द्रीय तथा प्रादेशिक सम्बन्धित मन्त्रालय, मध्यवर्ती क्षेत्र विकास परिषद्, संरक्षण क्षेत्र तथा वन उपभोक्ता समूहबीच सहकार्य तथा समन्वय अनिवार्य छ । इञ्जिनीयरिङ अध्ययन संस्थानका सहायक डिन सुशीलबहादुर बज्राचार्यले पनि इञ्जिनीयर क्षेत्रको पाठ्यक्रममा समावेश गरेको वन्यजन्तुमैत्री पूर्वाधारसम्बन्धी विषय र प्रयोगात्मक कार्यले इञ्जिनीयरलाई फिल्डमा काम गर्न सहज हुने अपेक्षा गरे ।

उनले भने, “वन्यजन्तुमैत्री पूर्वाधार निर्माणबाट मात्र जैविक विविधताको दिगो संरक्षण गर्न सकिन्छ ।” रेखीय वा लामो प्रकृतिको पूर्वाधार ९सडक, सिँचाइ, प्रसारणलाइन, रेलका लिङ्कलगायत० निर्माण गर्दा अपनाउनुपर्ने सावधानी र वातावरणीय पक्षप्रति ख्याल नगर्दा मानव–वन्यजन्तु द्वन्द्वका घटना बढेका छन् । जैविक विविधताको संरक्षणका लागि कोरिडोर जोगाउन वन्यजन्तुमैत्री पूर्वाधार निर्माण अपरिहार्य छ । यसले गर्दा वन्यजन्तुको निरन्तर ओहोरदोहोर हुने र यातायातका साधन पनि २४सैँ घण्टा निर्वाध सञ्चालन गर्न सकिन्छ ।

‘सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इञ्जिनीयरिङ फम्र्स’ (स्काफ) नेपालका अध्यक्ष ई ठाकुरप्रसाद शर्माले वातावरणमैत्री पूर्वाधार निर्माणका सम्बन्धमा अपेक्षानुसार वकालत हुन नसकेको उल्लेख गरे ।

उनले भने, “तर सरकारले पछिल्लो समय गरेको नीतिगत व्यवस्था सकारात्मक छ, यसले वातावरणमैत्री पूर्वाधार निर्माण गर्न सुरुआत भएको छ ।” भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार सरकारले संरक्षण क्षेत्रमा ‘वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका, २०७८’ अनुसार नै पूर्वाधार निर्माण गरिरहेको छ । वन्यजन्तुको आवतजावतलाई सुरक्षित तुल्याई वन्यजन्तु दुर्घटना कम गर्न तथा मानव र वन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरण गर्न वन्यजन्तुको वासस्थान र हिँडडुलका क्षेत्रमा निर्माण हुने रेखात्मक प्रकृतिका पूर्वाधार संरचनालाई वन्यजन्तुमैत्री बनाउन उक्त निर्देशिका बनाइएको हो ।

कार्यक्रममा नेफेजका अध्यक्ष रोशनी अधिकारीले वन्यजन्तुमैत्री पूर्वाधार निर्माणको विषय नेपाली पत्रकारिताका क्षेत्रमा नयाँ भएकाले यस सम्बन्धमा सञ्चारकर्मीलाई थप अभिमुखीकरण गर्न आफूहरुले यो विषयमा छलफल र अन्तरक्रिया अघि बढाएको बताइन् ।

वन्यजन्तु संरक्षण तथा राष्ट्रिय निकुञ्ज विभागका अनुसार आर्थिक वर्ष २०७९÷८० मा मात्र २० संरक्षित क्षेत्रमा विभिन्न ४७ किसिमका पाँच सय ५८ वन्यजन्तु र जीवको मृत्यु भएको थियो । त्यसमध्ये प्राकृतिक कारणले एक सय ८७, सडक दुर्घटनाबाट एक सय ४१, चोरी सिकारबाट १४, करेन्ट लागेर १०, नहरमा डुबेर २०, तारजालीमा परेर १४, कुकुरको आक्रमणबाट एक सय १३, पासो–जालमा परेर पाँच, कारण नखुलेको २९ र अन्य कारणले २५ वन्यजन्तुको मृत्यु भएको थियो ।

यसरी मृत्यु भएका वन्यजन्तुमा गैँडा, बाघ, हात्ती, अर्ना, गौरी गाई, हिउँ चितुवा, कृष्णसार, चरी बाघ, चौका, चित्तल, रतुवा, नीलगाईलगायत छन् । तराईका संरक्षित क्षेत्रमा मृत्यु हुने वन्यजन्तुको सङ्ख्या बढ्दो छ भने पहाड तथा हिमाली क्षेत्रमा यो सङ्ख्या तुलनात्मकरुपले कम देखिन्छ । स्थानीय तहमा तीव्र गतिमा भइरहेका सडक, सिँचाइ, रेलमार्गलगायतका निर्माण कार्यलाई जैविक विविधतामैत्री बनाउनुपर्ने, ठुला सिँचाइ, नहर र कुलोको दुवै किनारमा फेन्सिङ गरी वन्यजन्तु स्वतन्त्ररुपमा ओहोरदोहर गर्न मिल्ने गरी उपयुक्त र वैज्ञानिक पूर्वाधार निर्माण गर्नु आवश्यक रहेकामा कार्यक्रमका वक्ताहरुले जोड दिएका थिए ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार १८:०५