६ असार २०८१, बिहीबार | Thu Jun 20 2024

भ्रष्टाचारमा डुब्यो सिद्धलेकः छानविनका लागि उपाध्यक्षसहित १२ जनप्रतिनिधिले दिए उजुरी


३० जेठ, धादिङ । आगामी बर्षको लागि नीति तथा कार्यक्रम, योजना तर्जुमा र बजेट माथि व्यापक छलफल हुनुपर्ने बेला धादिङको सिद्धलेक गाउँपालिकामा कार्यपालिकाको बैठक समेत बस्न नसक्ने अबस्था बनेको छ । अध्यक्षको मनोमानीले गाउँपालिकामा भ्रष्टाचार बढेको भन्दै उपाध्यक्षसहित दुई तिहाई कार्यपालिका सदस्यले छानविनको माग राखेर जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समिति धादिङमा उजुरी दिएका छन ।

उपाध्यक्षसहितका बहुमत कार्यपालिका सदस्य उजुरी बोकेर प्रशानको शरणमा पुगेपछि कार्यपालिकामा थप तनाव उत्पन्न भएको छ । गत स्थानीय निर्वाचनमा तत्कालिन गठवन्धनको साझा उम्मेदवार बनेर नेपाली काँग्रेसका परशुराम खतिवडा अध्यक्षमा र नेकपा एसकी सविता अर्याल उपाध्यक्षमा विजयी भए पनि अध्यक्ष खतिवडाले अन्य राजनैतिक दलबाट निर्वाचित जनप्रतिनिधि, दल र समर्थकहरु प्रति निकै अपमानजनक व्यवहार देखाउँदै असहिष्णु देखिंदै आएका अरूको आरोप छ ।

कारबाहीको माग गर्दै उपाध्यक्ष सविता अर्यालले दिएको उजुरी ।

हरेक निर्णयमा जालझेल गर्ने, कार्यपालिकाको बैठकमा एउटा बिषयमा छलफल गरी पछि अर्कै निर्णय लेख्ने, माइन्युट घरमा लगेर राख्ने, निर्णयहरु आंफुसुखुी थप्दै जाने कृषि फार्म र सडक निर्माणको नाममा अवैध ढंगबाट बालुवा तस्करी गरि पालिकालाई हानी नोक्सानी पुरयाएको, कार्यपालिका बैठकको माईन्युट आफ्नो कव्जामा राखी छलफलमै नआएको प्रस्तावमा निर्णय लेखेर थप्ने गरेको लगायतका बिषयमा छानविनको माग राखी कार्यपालिकाका १६ मध्ये १२ जना सदस्यले हस्तक्षार गरी जिल्ला प्रशासन कार्यालयमा लिखित उजुरी दिएका छन् ।

गाउँपालिकाको विभिन्न स्थानमा अबैध रुपमा सञ्चालन भइरहेको उत्खनन तत्काल रोक्न गाउँपालिकाका उपाध्यक्ष सहित १२ जना कार्यपालिका सदस्यले प्रशासनमा लिखित उजुरी दिएपछि त्यस्को प्रतिशोधमा अध्यक्ष परशुराम खतिवडाले उपाध्यक्ष सविता अर्याललाई दिएको सवारी खोस्नुका साथै सचिवालय कर्मचारी हटाउने र उपाध्यक्षको कार्यकक्षमा सिसिटिभी जडान गरी त्यहाँको गतिविधि स्वयंले अनुगमन गर्न थालेका छन् ।

अध्यक्षको आदेश पछि उपाध्यक्षको सचिवालयमा सहायक कम्प्युटर अपरेटर पदमा कार्यरत रामकुमार श्रेष्ठलाई वडा नम्बर ७ को पशु स्वास्थ्य कार्यकर्ताको रुपमा काम गर्न सरुवा गरिएको छ भने सचिवालयको कम्प्युटर, प्रिन्टर समेत हटाईएको छ । त्यसैगरी उपाध्यक्षले चढ्दै आएको मोटर अध्यक्षले खोसेर आंफै प्रयोग गर्न थालेका छन भने अध्यक्षले चढ्ने गरेको मोटर एक महिना देखि गाउँपालिकामा देखिएको छैन ।

अवैध रुपमा खानी सञ्चालन गरी बालुवा निकासी गरेको र पालिकामा तिर्नुपर्ने वातावरण शुल्कसमेत नबुझाएर गाउँपालिकामा आउनुपर्ने राजस्व हानी नोक्सानी गरेको भन्दै स्थानीय तीन दल र बहुमत कार्यपालिका सदस्यले छुट्टाछुट्टै रुपमा छानबिन गरी आवश्यक कारबाही गर्न माग गर्दै धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेसँग लिखित आग्रह गरेका थिए ।

कारबाहीको माग गर्दै हस्ताक्षर गर्ने राजनीतिक दलका प्रतिनिधिहरू ।

सिद्धलेक गाउँपालिकाका उपाध्यक्ष सविता अर्यालको अध्यक्षतामा बहुमत कार्यपालिका सदस्यको बैठकले विभिन्न आठ वटा निर्णयको प्रतिलिपिसहित पालिकामा भईरहेको अनियमितताको अनुसन्धान र कारबाही गर्न प्रमुख जिल्ला अधिकारी पाण्डेलाई लिखित आग्रह गरेपछि अध्यक्ष खतिवडाले तत्काल बिज्ञप्ति जारी गर्दै उजुरीकर्ता जनप्रतिनिधिलाई माफि माग्न निर्देशन दिएका थिए । माफि नमागे कारवाही गर्ने चेतावानी समेत अध्यक्ष खतिवडाले बिज्ञप्ति मार्फत दिएका थिए । जेठ गते पहिलो पटक जारी गरिएको बिज्ञप्तिमा अध्यक्ष खतिवडाले पालिका भित्रको सवाललाई सार्वजनिक गरेको भन्दै उजुरीकर्ता जनप्रतिनिधिलाई कारवाही गर्ने धम्कि दिएका थिए ।

गाउँपालिकाका उपाध्यक्ष सविता अर्यालको नेतृत्वमा १२ जना कार्यपालिका सदस्य र दलहरुको तर्फबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष रामहरि बराकोटी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्प थपलिया र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष ईश्वरी अर्यालले हस्ताक्षर गरेर प्रमुख जिल्ला अधिकारी पाण्डेलाई छुट्टाछुट्टै पत्र बुझाई पालिकामा भईरहेको अनियमितता छानविन गर्न माग गरेका छन् ।

 

प्रमुख जिल्ला अधिकारी पाण्डेलाई बुझाईएको उजुरी र ध्यानाकर्षण पत्रमा भनिएको छ ‘गाउँपालिकाले विसं २०८१ जेठ १८ गते पिपलटार एकीकृत कृषि फार्म प्रालि सिद्धलेक–७ लाई प्रचलित ऐन तथा कानुनको पालना गरी कृषि कार्य गर्न मात्र अनुमति दिइएको थियो । उक्त फार्मले सो क्षेत्रमा बालुवा भएको ठाउँ उत्खनन गरी दैनिक अवैध बालुवा निकासी गर्ने, कृषि फार्म सञ्चालन गर्न दिइएको अनुमति देखाएर अवैध खानी सञ्चालन गरेको उजुरीमा उल्लेख छ । एउटा कामका लागि भनेर अनुमति लिएर अर्को काम गर्दा पनि पालिकाले वेवास्ता गरेको,कानुन विपरीतका कार्य बन्द गर्न पालिकाका अध्यक्षसहितलाई अनुरोध गर्दा पनि कुनै सुनुवाइ नभएको प्रमुख जिल्ला अधिकारीलाई बुझाईएको पत्रमा लेखिएको छ ।

अध्यक्षबाहेक बहुमत कार्यपालिका सदस्यले पिपलटार अमनटारमा कृषिजन्य कार्य गर्ने क्रममा (जमिन सम्याउँदा) निस्केको भनिएको माटोजन्य पदार्थ निकासी गर्दा पालिकामा कानुनबमोजिम कर तिर्नुपर्नेमा नतिरेकाले अवैध उत्खनन निकासी बन्द गर्न र निकासी गर्दा पालिकालाई राजस्व तिर्न माग गरिएको नेकपा माओवादी केन्द्रका गाउँपालिका कमिटीका अध्यक्ष पुष्प थपलियाले बताउनुभयो ।

पिपलटार एकीकृत कृषि फार्म प्रालिले प्राप्त गरेको अनुमति ।

निजी जग्गाको माटोजन्य वस्तु निकासी गर्दा वाग्मती प्रदेश सरकारको आर्थिक ऐन २०८० अनुसार प्रतिक्युफिट तीन रुपैयाँ ५० पैसाका दरले पालिकामा कर तिर्नुपर्नेमा कानूनी व्यवस्था भएपनि पिपलटार अमनटारबाट १७०० टिप भन्दा बढि निकासी हुँदा पनि पालिकामा कर नतिरेको दलहरुको उजुरीमा भनिएको छ । कानून वमोजिम पालिकामा जम्मा हुनुपर्ने रकम पालिकालाई नवुझाएर राजस्व नोक्सानी गर्नुका साथै गैर कानूनी कार्य भईरहँदा पनि पालिकाले रोक्न नसकेपछि प्रशासनलाई अनुरोध गरिएको नेकपा एकीकृत समाजवादी सिद्धलेक गाउँपालिका कमिटीका अध्यक्ष इश्वरी प्रसाद अर्यालको दावी छ ।

गतवर्ष वाग्मती प्रदेश सरकारले पिपलटार अमनटार सडक निर्माण गर्न रु १० लाख रकम दिएको थियो । सडक निर्माण गर्दा निस्किएको माटोजन्य पदार्थको निकासी शुल्क रु १८ लाख एक हजार आठ सय पालिकाको खातामा जम्मा गर्नुपर्नेमा पिपलटार अमनटार सडक स्तरोन्नति आयोजना उपभोक्ता समितिले रु ६८ हजार दुई सय मात्र जम्मा गरेकाले बाँकी रकम तत्काल जम्मा गर्नसमेत माग गरिएको नेकपा एमालेका गाउँपालिका अध्यक्ष रामहरि बराकोटीे वताउनु हुन्छ ।

संघीय र प्रदेश सरकारले पालिकामा आउने अनुदान कटौती गरिदिंदा आधारभूत विकासका काम अधुरै रहेको बेला गाउँपालिका अध्यक्षको मनोमानीमा पृथ्वीराजमार्गको फुर्केखोलाबाट कालुपाण्डे मार्गको बुङचुङ कादिदह सम्मको क्षेत्रमा पाँच वटा स्वागत गेट निर्माण गर्न लागिएको, सदावहार हरियाली भएको सडक छेउमा कृत्रिम बिरुवा रोपेर हरियाली सडक बनाउने भन्दै ठेक्का लगाईएकाले अहिलेको अवस्थामा सो ठेक्का रद्द गर्न राजनीतिक दल र जनप्रतिनिधिले छुट्टाछुट्टै माग गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी पाण्डेले अवैधरुपमा भएको उत्खनन र कृषि फार्मको नाममा भएको उत्खनन तत्काल रोक्न र पालिकाले दिएको अनुमतिसमेतको छानविन शुरु भईसकेको वताउनु भयो । पालिका भित्र बढ्दै गएको अनियमितता र गैर कानूनी कार्यको छानविन गर्न माग गर्दै प्रशासनमा उजुरी दिनु अघि कार्यपालिका बैठकले गरेको विभिन्न मितिको निर्णयको प्रतिलिपि माग गर्दै दलहरु पालिकामा पुगेका थिए ।

भ्रष्टाचारमा अध्यक्षमाथि कारबाहीको माग गर्दै हस्ताक्षर गर्ने कार्यपालिका सदस्यहरू ।

सूचनाको खोजी गर्दै सूचना अधिकारीको जिम्मेवारी समेत पाएका प्रशासन शाखा प्रमुख बरिष्ठ शाखा अधिकृत शिवराम अधिकारीलाई सूचनाको माग गर्दा अधिकारीले पालिका अध्यक्षको प्रवक्ताको भूमिका निर्वाह गरी दलका नेता माथि अपशव्द बोलेको भन्दै दलिय प्रतिनिधि र बरिष्ठ शाखा अधिकृत अधिकारी बिच भनाभन हुन पुगेको थियो । बरिष्ठ शाखा अधिकृत अधिकारीले दलका स्थानीय नेताहरुको मानमर्दन गरेको कानून वमोजिम पाउनु पर्ने सूचना माग्दा अपशव्द वोलेको उल्टै कर्मचारीलाई उचालेर ३ दिन सम्म पालिकामा पेन डाउन गरी सेवा ठप्प पारेको भन्दै अधिकारीलाई सिद्धलेक गाउँपालिकाबाट जिल्लाकै विकटमा रहेको खनियावास गाउँपालिकामा सरुवा गरिएको छ । अधिकारी डेढ महिना अघि मात्रै नुवाकोटको वेलकोटगढी नगरपालिकाबाट सिद्धलेकमा सरुवा भई आएका थिए । कर्मचारी सरुवामा निकै चर्चा पाईसकेका खतिवडाले गाउँपालिकामा कार्यरत बरिष्ठ शाखा अधिकृत हरिबहादुर पाटामगरलाई जर्वजस्ती सरुवा गरेर शिवरामलाई ल्याएका हुन् ।

त्यसो त सिद्धलेक गाउँपालिका छिटो छिटो प्रमुख प्रशासकीय अधिृकृत परिवर्तन गर्नेमा चिनिंदै आएको छ । खतिवडा अध्यक्ष भएपछि अहिले सम्म सिद्धलेकमा नन्दलाल शर्मा, राममणि मिश्र,नारायणप्रसाद अधिकारी,राजन फुयाल,सन्जयबहादुर स्याङ्तान,डा. चक्र वली र विनोदकुमार अधिकारी प्रमुख प्रशासकीय अधिकृत भईसकेका छन ।अहिलेका प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार पनि २ महिना अघि रामेछापको लिखु तामाकोशीबाट सरुवा भएर आएका हुन् । खतिवडा अध्यक्ष भएपछि अहिले सम्म कुनै पनि प्रमुख प्रशासकीय अधिकृत ६ महिना भन्दा बढि टिक्न सकेका छैनन् ।

पालिकामा बढ्दै गएको अनियमितता छानविन गरी दोषि उपर कारवाही हुनुपर्ने, बैठकको माइन्युटमा जथाभावी निर्णय थप्दै अध्यक्षको स्वार्थ बाझिएको निर्णय खारेज हुनुपर्ने, जनताको आवश्यकता भन्दा पनि अध्यक्षको स्वार्थले हुने गरेको कार्य रोकिनु पर्ने माग कार्यपालिका सदस्यहरुको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार ११:१२