१५ असार २०८१, शनिबार | Sat Jun 29 2024

अब नेपाली कांग्रेस विसं २०८४ सम्म प्रतिपक्षमै रहन्छः महामन्त्री थापा


२६ जेठ, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस विसं २०८४ सम्म प्रतिपक्षमा बस्ने बताउनुभएको छ । नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–३ वडा कार्यसमितिले आज यहाँ आयोजना गरेको ‘वर्तमान राजनीतिक अवस्थामा नेपाली कांग्रेसको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले अर्को निर्वाचनसम्म कांग्रेस सशक्त प्रतिपक्ष भएर बस्ने बताउनुभएको हो ।

महामन्त्री थापाले विसं २०७९ को निर्वाचनमा पाँच वर्षका लागि पाँच दलबीच गठबन्धन भए पनि चाहनाले नभई परिस्थितिले गठबन्धन टुटेकाले अब प्रतिपक्षमा बसेर सङ्गठन निर्माणको कामलाई अगाडि बढाउने बताउनुभएको हो । तीन वर्षको समय पार्टीलाई पुनःनिर्माण र बलियो बनाउने समय भएको उहाँको भनाइ छ ।

“कांग्रेसको सरकार बनाउने र गिराउने चाहाना छैन, कांग्रेस जनताका विषयलाई लिएर अगाडि बढ्छ, सरकार र शक्तिको आडमा अदालत र संवैधानिक आयोगलाई प्रभावमा पारेर कसैले जनविरोधी काम गर्न पाइँदैन”, उहाँले भन्नुभयो ।
महामन्त्री थापाले पछिल्लो समय राष्ट्रिय अर्थतन्त्र कमजोर भएकाले त्यसलाई ठीक गर्न कांग्रेसले पहलकदमी लिने बताउनुभयो । उहाँले कांग्रेसले तीन सय ३२ स्थानीय तहमा विजय हासिल गरेर कतिपय स्थानीय तहमा राम्रा काम गरे पनि त्यसको प्रचारप्रसार हुन नसकेको उल्लेख गर्नुभयो ।

महामन्त्री थापाले घरघरमा पुगेर पार्टी र आगामी कार्यदिशाका बारेमा छलफल गर्नुपर्नेबेला आएको बताउनुभयो । उहाँले अब बस्ने पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले महासमितिको प्रस्ताव पारित गरेर अगाडि बढ्ने उल्लेख गर्नुभयो । आगामी बैठकले पार्टीका भ्रातृ संस्थाका बारेमा निर्णय लिने उहाँले जानकारी दिनुभयो । काग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले काठमाडौँका जनता सचेत भएकाले सोहीअनुसार पार्टीले रणनीति बनाएर अगाडि बढ्नुपर्ने बताउनुभयो । “सङ्गठनलाई सशक्त बनाउन जनसम्पर्क र जनताका चाहनालाई सम्बोधन गरेर अगाडि बढ्नुपर्छ”, उहाँले भन्नुभयो ।

नेता पौडेलले गिरिबन्धु टि स्टेटका बारेमा अदालतले फैसला गरेकाले त्यसबारे कांग्रेसले कुरा उठाउँदै आएको बताउनुभयो । गिरिबन्धु टि स्टेटका बारेमा सहकारी जस्तै कुरा उठाउन जरुरी भएको उहाँले बताउनुभयो  । नेपाली कांग्रेस बागमती प्रदेशका सदस्य रमेशकुमार खड्काले पार्टीको सङ्गठनलाई बलियो बनाएमात्र सबै क्षेत्रमा कांग्रेसले जीत हासिल गर्नसक्ने बताउनुभयो ।

नेपाली कांग्रेस काठमाडौँका उपसभापति गोकर्ण केसीले कांग्रेसले अहिलेसम्म देशको विकासका लागि गरेको राम्रा काम जनतामाझ लैैजानुपर्ने बताउनुभयो । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ५ का सचिव पञ्चकुमारी श्रेष्ठले जनताका समस्या समाधानका लागि कांग्रेस लाग्नुपर्ने बताउनुभयो । कांग्रेस काठमाडौँ महानगरपालिका–३ का सभापति विसम केसीले नेपाली कांग्रेसलाई बलियो बनाउन मतदाताका घरघरमा पुगेर सङ्गठन निर्माणमा लाग्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : २६ जेष्ठ २०८१, शनिबार १२:३१