३० हजार डलर घुस माग्ने राष्ट्र बैंकका पूर्व सञ्चालक कर्णलाई अख्तियारको ताकेता
२३ जेठ, काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ३० हजार डलर घुस माग्ने नेपाल राष्ट्र बैंकका पूर्व सञ्चालक सुबोधकुमार कर्णलाई उपस्थित हुन आउनका लागि पुनः तीस दिनेको सूचना जारी गरेको छ । बुधबार अख्तियारले दोस्रो पटक सूचना प्रकाशित गर्दै कर्णलाई उपस्थित हुन अनुरोध गरेको छ ।
आयोगले उपस्थित हुन नआए कानुन अनुसार हुने पनि सूचनामै उल्लेख गरेको छ । आयोगले यसअघि पनि कर्णको नाममा तीस दिने सूचना प्रकाशित गरेको थियो । तर कर्ण अख्तियारमा उपस्थित नभएर भागीभागी हिँडिरहेका छन । काठमाडौँ महानगरपालिका वडा नम्बर ३१ शंखमुलमा बस्ने विजयकुमार कर्णका छोरा सुबोधकुमारले पर्साबाट नागरिकता दिएका छन ।
उनी माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी निकट मानिन्छन । कर्णले २०७६ फागुनमा ३० हजार अमेरिकी डलर घुस माग्दै चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीलाइ मोबाइल सन्देश पठाएका थिए ।

कर्णले घुस मागेको प्रमाण सार्जनिक भए पनि तत्कालीन सरकार प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माले पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको आग्रहमा कर्णमाथि कुनै कारबाही नगरी उल्टै सरंक्षण गरेका थिए । गभर्नर महाप्रसाद अधिकारीले कर्णले घुसखोरीका बारेमा सरकारलाई जानकारी दिएको भए पनि कुनै पनि कारबाहीको प्रक्रिया अघि बढेको थिएन ।
राष्ट्र बैंक ऐनको दफा २२ (५) ले मुलुकको बैंकिङ तथा वित्तीय व्यवस्थामा हानिनोक्सानी पुग्ने कार्य गरेको देखिए तथा बैंकको काम–कारबाहीमा बेइमानी वा बदनियत गरेको देखिए सञ्चालक समिति सदस्यलाई हटाउन सक्ने व्यवस्था गरेको छ तर माधवकुमार नेपालको प्रभावमा उनीमाथि कुनै कारबाही नै भएन । पछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा प्रमाणसहित उजुरी परेपछि अहिले छानविन चलिरहेको छ ।
आयोगले त्यसकैका लागि कर्णका नाममा दोस्रो पटक तीस दिने सूचना प्रकाशित गरेको छ । कर्ण २०७५ वैशाखमा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा माधवकुमार नेपालको सञ्चालकमा नियुक्त भएका थिए । २०७५ वैशाख १२ गते तत्कालीन मन्त्रिपरिषद् बैठकले कर्णलाई सञ्चालक पदमा ५ वर्षका लागि नियुक्त गरेको थियो । कर्ण नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाका पूर्व अध्यक्ष समेत हुन्।

प्रकाशित मिति : २३ जेष्ठ २०८१, बुधबार ११:११












