१५ असार २०८१, शनिबार | Sat Jun 29 2024

एमाले नुवाकोटको अधिवेशन भोलि, तादी खोला किनारमा ओलीले उद्घाटन गर्ने


२१ जेठ, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) नुवाकोटको आठौं जिल्ला अधिवेशनकाे तयारी पूरा भएको छ । भोलि जेठ २२ देखि २४ गतसम्म हुने तीन दिनको अधिवेशनको उद्घाटन सत्र तादी खोलाको किनारमा र बाँकी दिनको बन्दसत्र बट्टारमा गरिने र अधिवेशनको सबै तयारी पूरा भएको एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीले दैनिकीलाई जानकारी दिए ।

मैनालीका अनुसार अधिवेशनको उद्घाटनसत्र लिखु गाउँपालिकाको ढिकुरे बजार नजिकै तादी खोलाको किनारमा र बन्दसत्र विदुर नगरपालिकाको बट्टारमा हुनेछ । जिल्लाका भूगोल, जनवर्गीय सङ्गठन र विधानबमोजिमका निकायबाट तथा मनोनित गरेर  जना प्रतिनिधिले अधिवेशनमा सहभागिता जनाउने अध्यक्ष मैनालीले बताए । उनले अधिवेशनको तयारीका लागि १५ वटा उपसिमिति गठन गरिएको र ती सबै समितिले आफ्नो तयारी पूरा गरेको बताए ।

दश हजारकाे सहभागिता रहने

पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने तयारी गरिएको अधिवेशनमा दश हजार जनाको उपस्थिति हुने मैनालीले दाबी गरे । पार्टीका केन्द्रीय स्तरका नेता, कार्यकर्ता तथा शुभचिन्तक अधिवेशनको उद्घाटन सत्रमा उपस्थित हुनेछन् । जसको व्यवस्थापनका लागि पार्टीका सबै कमिटीलाई परिचालन गरिएको प्रचार उपसमितिका संयोजक निलकण्ठ आचार्यले जानकारी दिए ।

ढिकुरेमै उद्घाटन सत्र किन ?

भुगोलको हिसाबले जील्लाको केन्द्र भागमा रहेको ढिकुरेको राजनीतिक, आर्थिक र सामाजिक विकासमा सहयोग पुर्याउने उदेश्यले अधिवेशनको उद्घाटन गर्न लागिएको मैनालीले जानकारी दिए । दोस्रो पशुपतिका नामले परिचित दुप्चेश्वर महादेवको प्रचारप्रसारमा समेत मद्दत पुग्ने मैनालीको दाबी छ ।

काठमाडौँबाट छोटो दुरी भएका कारण अधिवेशनमा आउने पाहुनालाई समेत सहज हुने मैनालीको विश्वास छ । केन्द्रीय नेताहरु सधैँ विदुरमा मात्रै भेला हुँदा उक्त क्षेत्र ओझेलमा परेकाले त्यहाँको समग्र विकासमा सहयोग पुर्याउन सकिने अपेक्षसहित अधिवेनको उद्घाटनसत्र ढिकुरेमा गर्न लागिएको मैनालीले बताए । अधिवेशनले एक अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित १०५ जनाको जिल्ला कमिटी निर्वाचित गर्नेछ ।

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र यसअघि नारायणी नदीको किनारमा गरिएको थियो । त्यसपछि सम्भवत नदी वा खोलाको किनारमा हुन लागेको एमालेको अधिवेशन यो नै पहिलो हो । प्राय जिल्ला अधिवेशनको उद्घाटनहरू बन्द हलमा हुनेगरेकोमा एमाले नुवाकोटले भने खोलाको किनारमा अधिवेशन उद्घाटन गराएर खोला नदीको संरक्षण गर्नुपर्छ भन्ने सन्देश दिन खोजेको देखिन्छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार १९:०१