१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

संसदीय समिति गठनका लागि कांग्रेसको मूल उद्देश्य र विषयमा सबैको सहमति


१५ जेठ, काठमाडौँ । नेपाली कांग्रेसले सहकारीको रकम अपचलनका विषयमा उठाउँदै आएका मागको मुख्य उद्देश्य र मूल विषयमा सबै राजनीतिक दलबीच सहमति भएको जनाएको छ ।

पार्टी संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले आफ्नो दलले माग गर्दै आएको सहकारीका विषयमा छानबिन समिति गठन भएपछि संसद्को जटिलता र अवरोध समाप्त भएको बताए ।

नेपाली कांग्रेसद्वारा सहकारी विषयमा संसदीय छानबिन समिति गठनमा सहमतिपछि आज आयोजित पत्रकार सम्मेलनमा उनले समितिले लाखौँ नेपाली जनताले जम्मा गरेको बचतको सुरक्षा, रकम फिर्ता गर्ने सुनिश्चितता, अपचलनको छानबिन र सङ्लग्नलाई कारबाही गर्ने कार्यदेश क्षेत्राधिकार पाएको स्पष्ट पारे । “सबै राजनीतिक दलबीचको निष्कर्षबाट समिति गठन भएको छ । प्रधानमन्त्रीलगायत मन्त्रिपरिषद्का सदस्य र अन्य राजनीतिक दलबाट भएको सहयोगका लागि हामी धन्यवाद ज्ञापन गर्छौं”, लेखकले भने ।

समितिले बचतकर्ताको रकम सुरक्षामात्र नभई अपचलन भएको रकम छिटो फिर्ता गर्नेमा सिफारिस गर्ने बताउँदै उनले गोरखा मिडिया प्रालिका नाममा कुन सहकारीबाट कति रकम जम्मा भयो भन्नेबारे अध्ययन गरी दोषी देखिएमा कारबाहीका लागि सिफारिससमेत गर्ने गरी सहमति भएको प्रमुख सचेतक लेखकले जानकारी दिए ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलवार २१:३२