२० पुष २०८१, शनिबार | Sat Jan 4 2025

अनलाइन बेटिङबाट २ अर्ब १ करोड बढी कारोबार गर्ने ढुंगाना पक्राउ

३१ वैशाख, काठमाडौं । विभिन्न अनलाइन बेटिङ साइटमा सट्टेबाजी गर्ने र क्रिप्टोकरेन्सी कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।पक्राउ पर्नेमा काभ्रे मण्डनदेउपुर ८ घर भइ भक्तपुर सूर्यविनायक नगरपालिका वडा नम्बर २ बस्ने  २४ वर्षीय अनिल ढुंगाना रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए ।

उनले विभिन्न बैंक खाता, वालेटको प्रयोग गरी दुई अर्ब १ करोड १८ लाख ४४ हजार १०२ रुपैयाँ बराबरको कारोबार गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएकाे छ ।

ढुंगानाले ११ वटा कनेक्ट आइपीएसमा ५५ वटा बैंक खाता लिंक गरी ४८ करोड ८० लाख बढी रकम कारोबार गरेको प्रहरीले जनाएकाे छ । १५ वटा वालेटहरु प्रयोग गरी ५ करोड भन्दा बडी रकम कारोबार गरेको, ५६ वटा बैंक खाता प्रयोग गरी ६१ करोड ६४ लाख बढी कारोबार गरेको भेटिएको प्रहरीले जानकारी दिएकाे छ ।

प्रचलित कानुन बमोजिम मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को उपदफा ४र सोहि संहिताको दफा १६२ (क) १ बमोजिमको कसुरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागी उनलाइ जिल्ला प्रहरी परिसरभक्तपुरमा पठाईएको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार १३:३०