२९ बैशाख २०८१, शनिबार | Sat May 11 2024

देशैभरका अशक्त र गरिब नागरिकको निःशुल्क उपचारमा सहयोग गर्ने बालनेको घोषणा


१६ वैशाख, काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाले अशक्त र गरिब नागरिक बिरामीको उपचार निःशुल्क गर्ने भएको छ । काठमाडाैँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनले सामाजिक सञ्जाल मार्फत यसको जानकारी दिएका हुन । उनले नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगर आएमा उपचारमा सहयोग गर्ने जानकारी दिएका हुन ।

काठमाडाैँ महानगरपालिकासँग ५२ अस्पतालका ३७४ बेडमा निःशुल्क उपचार हुने प्रमुख शाहले बताएका छन । ती अस्पतालहरूमा बिरामीको आवश्यकता अनुसार निःशुल्क उपचार हुनेछ । महानगर प्रमुख शाहले अाइतबार अाफ्नो नजिकमा उपचार नपाएर बसेको कोही गरिब र अशक्त बिरामी भए ११८० नम्बरमा फोन सम्पर्क गरेर जानकारी दिन अनुरोध गरेका छन ।

नेपालको संविधान २०७२ को धारा ३५ ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने, कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बन्चित नगरिने र प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुने भन्ने व्यवस्था गरेको छ । यद्यपी यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । कतिपय अवस्थामा पहुँच हुनेले गरिब र अशक्तको नाममा उपचार सेवा पनि लिइरहेका छन ।

काठमाडौं महानगरपालिका जनस्वास्थ्य ऐन २०८० को दफा २८ अनुसार काठमाडौं महानगरपालिका क्षेत्र भित्र रहेका अस्पतालहरुले विपन्न, असहाय र ब्यवारिसे नागरिकहरुलाई कुल शैयाको १० प्रतिशत विरामिलाई लाग्ने सम्पुर्ण उपचार खर्च निःशुल्क गर्नुपर्ने कानूनि व्यवस्था रहेको थियो । यद्यपी यो कार्यान्वयन भएको थिएन । तर बालेन शाह महानगरप्रमुख भएपछि यसको कडाका साथ कार्यान्वयन गराएका छन ।

नेपाल सरकारको स्वास्थ्य संस्था संचालन मापदण्ड २०७७ को दफा ७० घ मा समेत सो सम्बन्धि व्यवस्था गरेकाले नेपाल भरका अशक्त र गरिब नागरिकहरुलाई काठमाण्डौ माहानगरपालिका क्षेत्र भित्रका अस्पतालहरुमा निःशुल्क उपचार सेवा प्रभावकारी, पहूँच योग्य र पारदर्शी बनाउने उद्देश्यले महानगरपालिकाले अनलाइन प्रणालिको समेत विकास गरेको छ । जसबाट नागरिकले अस्पतालको जानकारी समेत लिन सक्नेछन ।

काठमाडाैँ महानगरपालिकाका अनुसार विपन्न र असाहय बिरामीले निःशुल्क उपचार सेवा लिनका लागि नेपाल सरकार/ प्रदेश सरकार/ स्थानिय सरकारले लक्षित वर्ग हो भनी जारी गरेको कागजात/ परिचय पत्र वा राष्ट्रिय परिचयपत्र / नेपाली नागरिकता प्रमाण पत्र/ जन्मदर्ता प्रमाणपत्र प्रतिलिपी र हालसालै खिचिएको फोटो चाहिन्रछ । यस्तै रोग पहिचान भए सोको कागजपत्र, अनुसूची-५ को आधारमा सम्बन्धीत स्थानिय तहको वडाले लक्षित वर्ग हो भनी अनुसूची- ४ अनुसारको सर्जमिन गरेको कागज र, सम्बन्धीत स्थानिय तहको वडा कार्यलयले उपचारको लागी अनुसूची- ३ अनुसारको सिफारिस गरेको पत्र चाहिने छ ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आईतवार ११:३१

https://srdb.com.np/