९ पुष २०८२, बुधबार | Wed Dec 24 2025

प्रदेश र स्थानीय तहका लागि ५८ हजार कर्मचारीकाे दरबन्दी स्वीकृत

१२ मंसिर, काठमाडौँ । सरकारले प्रदेश र स्थानीय तहका लागि ५८ हजार २ सय ६२ जना कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले प्रदेश र स्थानीय तहका लागि ५८ हजार २ सय ६२ जना कर्मचारीको दरबन्दी स्वीकृत गरिएको जानकारी दिनु भएको हो । बुधबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उहाँले विद्यमान ऐनले कर्मचारी समायोजनको कामलाई अघि बढाउन नदिएको पनि स्पष्ट पारे ।

सचिव थपलियाले कर्मचारी समायोजनका लागि कानुन संशोधन गर्न आफूले पटकपटक मन्त्रीलाई आग्रह गरेको दावी पनि गरे । नयाँ संवैधानिक व्यवस्था अनुसार कानुन नबनाई कर्मचारी समायोजनको कामलाई अघि बढाउन नसकिने सचिव थपलियाको भनाई छ ।

यता, सांसदहरुले भने आवश्यक्ताभन्दा बढी कर्मचारीको दरबन्दी स्वीकृत गरेको भन्दै सरकारको चर्को आलोचना गरेका छन । समितिको बैठकमा बोल्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने कपा) की सांसद पम्फा भुसालले आवश्यक्ताभन्दा बढी कर्मचारीको व्यवस्था नगर्न सरकारलाई सचेत गराउनुभयो । उहाँले हजारौंको संख्यामा रहेका कर्मचारीहरु कटौती गरेर राज्यलाई आर्थिक बोझबाट मुक्त गराउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले लोक सेवा आयोगको सहमतिबिना किन कर्मचारीको दरबन्दी स्वीकृत गरिएको भन्दै सरकारलाई प्रश्न गरे । वर्तमान सरकारले कर्मचारीहरुमाथि राजनीति गरेर कामै गर्न नसक्ने बनाएको पनि उनकाे आरोप छ ।

समितिका सदस्यहरुले कर्मचारी समायोजन सम्बन्धमा सरकारका काम कारबाहीप्रति असन्तुष्टि जनाएका थिए ।

प्रकाशित मिति : १२ मंसिर २०७५, बुधबार १८:४७