प्रहरीका महानिरीक्षक सर्बेन्द्र खनाललाई अाफ्नाे ज्वाई भन्दै ठगी गर्ने गुणराज ओझा पक्राउ
१२ मंसिर, मोरङ । नेपाल प्रहरीका महानिरीक्षक सर्बेन्द्र खनाल आफ्नो भान्जे ज्वाई भएको बताउँदै ५० जनालाई ठगी गर्ने गुणराज ओझालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।
मोरङको लेटाङ घर भइ विराटनगर-५ मा बस्दै आएका ओझा विराटनगरमा तीनवटा घर भाडामा लिएर नक्कली विद्युत्त परियोजना र बिजनेश मेनेजमेन्ट ग्रुप खोलेर ५० जनालाई ठगी गरेको आरोपमा मंगलबार राति विराटनगर-५ स्थित ससुराली घरबाट पक्राउ परेका हुन् ।

जल विद्युत र बिजनेश म्यानेजमेन्ट गु्रुपको नाममा अधिकृतदेखि पियनस्तरमा ५० जना कर्मचारी नियुक्ति गरेर तलब नदिइ ठगी गरेका ओझाले तलब माग्ने कर्मचारीलाई उल्टो ज्यान मार्ने धम्की दिएपछि पक्राउ गरिएको हो ।
तलब माग्दै श्रम कार्यालयमा निवेदन दिने कर्मचारीलाई ओझाले ज्यानमार्ने धम्की दिएका थिए । ओझाले कर्मचारीलाई ठगी गरेको उजुरी परेपछि पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए । ओझालाई ठगी मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको केसीले बताए ।
कर्मचारीलाई तलब नदिइ ठगी गरेका ओझाविरुद्ध कर्मचारीहरुले श्रम कार्यालयमा उजुरी गरेपछि आईजीपी आफ्नो भान्जे ज्वाई भएको बताउँदै ज्यान मार्ने धम्की दिएका थिए । सुरक्षाको माग गर्दै स्थानीयले प्रहरीमा उजुरी गरेपछि प्रहरीले पक्राउ गरी ठगी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको हो ।
प्रकाशित मिति : १२ मंसिर २०७५, बुधबार १८:२१












