२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

गृहमन्त्री लामिछानेले गरे मिटरब्याज पीडितसँग छलफल

२८ चैत, काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मिटरब्याज पीडितसँग छलफल गरेका छन्। प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि जनकपुरमा रहेका मन्त्री लामिछानेले पीडितसँग छलफल गरेका हुन् ।

छलपललमा मन्त्री लामिछानले समस्याको दीर्घकालिन समाधानका लागि बनेको दोस्रो आयोगले भर्खरै काम थालेको, जिल्लास्तरमा अनुचित लेनदेनसँग सम्बन्धित आवेदन आयोगले पुनः माग्ने र घटनाको प्रकृति र वर्गीकरणअनुसार क्रमशः सबै पीडितले न्याय पाउने आश्वासन दिए। त्यस्तै, मन्त्री लामिछानेले घटना विशेष अध्ययन गरी आयोगले निश्कर्ष दिने भएकाले केही समय धैर्य गर्न पनि मिटरब्याज पीडितहरूलाई आग्रह गरे।

छलफलमा पीडित पक्षले साहुकारको एकलौटी दाबीका आधारमा दायर रिटअनुसार अदालतको आदेश मुताविक आफूहरुमाथि भइरहेको धरपकड रोक्न माग गरेका थिए। उनीहरुले पुरानो आयोगले समय अभावका कारण टुंग्याउन नसकेका निवेदन जो जिल्ला प्रहरी कार्यालयलाई बुझाएको थियो, सो नयाँ आयोगलाई हस्तान्तरण गरिनुपर्ने माग समेत गरेका थिए।

पुराना निवेदन उपर कारबाही प्रक्रिया अगाडि बढाउने बहानामा इलाका प्रहरी कार्यालय र प्रहरी चौकीले पीडितको इच्छा बेगर जबरजस्त मिलापत्र गराउने काम भइरहेकोबारे पनि उनीहरुले गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए। जवाफमा गृहमन्त्री लामिछानेले प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि जनकपुरमा भेला भएका मधेसका सबै प्रजिअ र प्रहरी प्रमुखलाई आवश्यक निर्देशन दिने बताए। पटक–पटकको छलफल निश्कर्षबिहीन भए पनि लामिछाने गृहमन्त्री भए लगत्तै उनकै सक्रियतामा सहमति भई आयोग गठन भएकाप्रति पीडितले मन्त्री लामिछानेलाई धन्यवाद व्यक्त गरेका थिए।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार १०:४८