१७ कार्तिक २०८१, शनिबार | Sun Nov 3 2024

जीवनमा एक पटक पुग्नै पर्ने धार्मिक र पर्यटकीय गन्तव्य चिम्टेश्वर

-नारायणप्रसाद खनाल 

विश्वकै अनुपम प्राकृतिक आभुषणयुत्त देश हो नेपाल । पृथ्वीको धुरी हो नेपाल । भौगोलिक रुपमा मात्र हैन नेपाली भुखण्ड योग, संस्कृत भाषा, आयुर्वेद खगोल विज्ञान एवं विश्वकै दुर्लभ संस्कारको उदगम भूमि पनि हो । यही भूमी वा हिमवतखण्डमा सृष्टिको प्रथम बिज उत्पन्न भएको थियो । जसलाई नेपालको कालिगण्डकी नदीमा उत्पन्न भइरहेको सालिग्राम, मुस्ताङको ओडारमा उत्खनन् गरिएको २८ हजार बर्ष अघिदेखिको प्राचीन चित्रकलाले पनि ध्यान योग शिवजीको क्रिडा र साधनाको स्थल नेपाली भूमी हो भन्ने प्रमाणित हुन्छ । अनेकौ महापुरुषको तपोभूमी, पाणिनी ऋषि, अष्टबक्र ऋषि, राजऋषि जनक, गौतम बुद्ध, मत्स्येन्द्रनाथ, गोरक्षनाथ, स्वामी प्रपन्नाचार्य, योगी नरहरिनाथ, खप्तडबाबा, योगमायाहरुको तपोस्थल यो पूण्य भूमि हो ।

१९४७ अगस्ट १५ वा ७५ बर्ष अघिसम्म ईन्डिया छुट्टै देशको रुपमा अस्तित्वमा थिएन । १७८८ सम्म अस्ट्रेलिया अस्तित्वमा थिएन । १७७६ सम्म अमेरिका नै अस्तित्वमा थिएन । तर नेपालको चागुनारायण नै सन ४६४ अर्थात लगभग ३ हजार बर्ष पहिल्यै बनेको थियो । दशौँ शताब्दी अघि लिखित शिवपुराणमा “नयपाल इति नेपाल” भनेर उल्लेख हुनु, माता पार्वतीकै जन्मस्थलको रुपमा पर्वत जिल्ला देखिनु, ऋषि पराशरले तपस्या गरेको स्थल नवलपरासीमा भेटिनु, शिव भूमी हिमालय खण्ड नेपालनै रहेको भेटिन्छ ।

उच्च हिमाल सगरमाथा सहित ८ हजार मिटरमाथिका १४ ओटा हिमाल र अन्य नामाकरण भएका ८६६ हिमाल नेपालमै रहेका देखिन्छ । पुराण वेदले उच्च हिमाल र हिमबतखण्ड नेपालमै रहेको यथेष्ट प्रमाणले बताएको छ । ऎतिहासिक बिवरण, पौराणिक ग्रन्थ,पुरात्विकस्रोत, भूगर्वको प्रमाणले नेपाल र यहि पुण्यभुमिका चिम्टेश्वर जस्ता धरोहर,जहाँ हरेक श्वासमा दैवी उर्जा भेटिन्छ । त्यही शिवालय नै नेपालको एक शिव तीर्थ र पर्यटकीय गन्तव्य हो ।जहाँको एकै क्षणले परम आनन्द बोध गराउछ । आस्था, विश्वास र पवित्रताको यो एकधाम चिम्टेश्वर बहुधाम पनि बनाउनु पर्छ । बुद्ध मार्गीहरूको लागि शान्ती धाम बनाउनेतर्फ पनि ध्यान दिनुपर्छ । नेपाल र विश्वका यात्रा र प्रकृतिमा रमाउने मानिसहरू पुग्नै पर्ने ध्यान, योगकेन्द्रको रुपमा समेत यो भूमी परिणत गर्न सकिन्छ । आदिम कालदेखि नै यो देवस्थल रहेको इतिहास, उत्खननबाट देखिएका टायलहरु र अग्रजहरूको वाणीले प्रष्ट पार्छ ।

चिम्टेश्वर नुवाकोटको बेलकोटगढी नगरपालिकामा रहेको धार्मिक, ऐतिहासिक, पर्यटकीय र  पुरातात्विक महत्वको क्षेत्र हो । यसको विकास र संरक्षण गर्न तीनै तहका सरकारले अग्रसरता देखाएका छन् । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको एकीकरण अभियानसँग जोडिएको यस क्षेत्रमा पूर्वधार र वातावरणीय विकास गरी संरक्षण र प्रवर्द्धन गर्न स्थानीयहरू पनि जुरूक्कै उठेका छन ।

चिम्टेश्वरमा पैदल यात्रा वा सवारी दुबैमा सहस रूपमा पुग्न सकिन्छ । अहिले पाँच करोडको लगानीमा ‘भ्यू टावर’ निर्माण पनि भएको छ । मन्दिर क्षेत्र र गढी क्षेत्रमा जानका लागि खुटकिलाहरू पनि निर्माण भएका छन । यस्तै सिमसार पोखरी र पानी ट्याङ्की निर्माण पनि भएको छ । पछिल्ला दिनमा यस क्षेत्रमा विभिन्न राजनीति र सामाजिक संस्थाहरुले वनभोजलगायत सामाजिक गतिविधि बढाएका छन् । चिम्टेश्वरमा काठमाडौँको बालाजुबाट पासाङ ल्हामु मार्गको रानीपौवा हुँदै र नुवकोटको त्रिशूलीबाट तादी हुँदै तथा अन्य विभिन्न मार्गबाट जान सकिन्छ ।

काठमाडौँको स्वयम्भू-भीमढुङ्गा-चाउथे हुँदै ३३ किमी, बालाजु-रानीपौवा-जुरेथुमबाट ४६ किमी, बालाजु–तीनपिप्ले हुँदै ३७ किमी, नागढुङा-पिप्लामोड हुँदै २८ किमी, कलङ्की-धार्के-बाह्रबिसे झ्याङ्ली हुँदै जान सकिन्छ । चिम्टेश्वर महादेवस्थान नुवाकोटको साबिक बेलकोट, कुमारी, जिलिङ तथा दुईपीपल गाविसको सिमानामा पर्ने ऐतिहासिक, धार्मिक, पुरातात्विक एवं पर्यटकीय महत्ववको क्षेत्र हो ।

विविध जडीबुटी, लोपोन्मुख पशुपन्छी, चराचुरुङ्गी तथा पुतलीहरू पाइने उक्त स्थानबाट गणेश, लाङटाङ, जुगल, दोर्जेलाक्पा आदि हिमशृङ्खलाको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । यहाँबाट काठमाडौँ उपत्यकाको तीनवटै सहर, काभ्रेपलञ्चोक, सिन्धुपाल्चोक, धादिङ, दोलखा, मकवानपुर, रसुवा, चितवन र गोर्खालगायत जिल्लाका भूभागसमेत हेर्न सकिन्छ ।

बागमती प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री केशवराज पाण्डेले यस क्षेत्रलाई मध्यपहाडीको विकासशील सम्भावनायुक्त क्षेत्रका रुपमा राखी तीनवटै तहका सरकारबाट एकीकृत विकासका काम गराउन पहल भइरहेको बताउनुभयो । उहाँले नेकपा (एमाले) ले हालै सञ्चालन गरेको झुलाघाट–चिवाभञ्ज्याङ सङ्कल्पयात्राका क्रममा मध्यपहाडी (पुष्पलाल) राजमार्गभित्र सो क्षेत्र पनि पर्ने भएकाले यहाँका समस्या, सम्भवना, चुनौती र अवसरबारे सरकारलाई अवधारणापत्र दिइएको बताउनुभयो ।

नुवाकोट दरबार, देवीघाट र चिम्टेश्वरको संवर्द्धन गरी पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सङ्घीय सरकारबाट ‘नेपाल एकीकरण आरम्भ क्षेत्र विकास समिति’ गठनको प्रयास पनि भइरहेको छ । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री भानुभक्त ढकालले समिति गठनको सन्दर्भमा निर्णय नै गरेर गठन आदेश समेत तयार भैसकेको छ । केन्द्र सरकारबाट गठन हुने समितिले विदुर नगरपालिका-२ स्थित नुवाकोट दरबार क्षेत्र, भैरवी मन्दिर परिसर, शाहको समाधिस्थल विदुर-५ देवीघाट, बेलकोटगढी नगरपालिका-१, २, ३, ४, ९ र ११ मा पर्ने चिम्टेश्वर क्षेत्र तथा नुवाकोटका नौमध्ये छ कोट-प्यासकोट, कालीकोट, सिमलकोट, भैरुमकोट, मालकोट र बेलकोट क्षेत्रको संरक्षण तथा संवर्द्धन  गरी पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने जिम्मेवारी पाउनेछ । उक्त क्षेत्रको पूर्वमा नुवाकोटको तादी र पञ्चकन्या गाउँपालिका, पश्चिममा तारकेश्वर र म्यागङ गाउँपालिका, उत्तरमा रसुवाको उत्तरगया गाउँपालिका, दक्षिणमा नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिका पर्दछन् ।

(लेखक खनाल चिम्टेश्वर क्षेत्रको प्रवर्द्धनका लागि प्रारम्भदेखि काम गरिरहेका अगुवा हुन । उनी त्यस क्षेत्रको सामाजिक अभियन्ता हुन । खनाललाई फेसबुकमा पनि भेट्न सकिन्छ ।-सम्पादक)

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार ०६:५१