स्वास्थ्य सचिव डा पुष्पा चौधरीलाई अदालतमा उपस्थित हुन सर्वोच्चको आदेश
६ मंसिर, काठमाडौँ । स्वास्थ्य मन्त्रालयकी सचिव डा. पुष्पा चौधरीलाई सर्वोच्च अदालतले अदालतमा उपस्थित हुन आदेश जारी गरेको छ । आफूलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च पुगेकी चौधरीलाई सरकारले दिएको पुनरावेदनको सुनुवार्इ गर्दै सर्वाेच्चले अदालतमा उपस्थित हुन भनेकाे हो ।

मन्त्रिपरिषदको निर्णयविरुद्ध रिट दायर गरेकी चौधरीले सर्वोच्चको आदेशबाट स्वास्थ्य मन्त्रालय फर्किने बाटो पाएकी थिइन् । सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै चौधरीको सरुवा गर्ने सम्बन्धमा भएको निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।
चौधरीका सम्बन्धमा सर्वोच्चले जारी गरेको अन्तिरिम आदेशविरुद्ध सरकारले पुनरावलोकन गरेको थियो । बिहीवार सरकारले गरेको पुनरावलोकनमा सुनुवाई गर्दै न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ र सपना प्रधान मल्लको इजलाशले मुद्दाको सम्बन्धमा छलफलका लागि चौधरीलाई अदालतमा उपस्थित हुन आदेश जारी गरेको हो ।
प्रकाशित मिति : ६ मंसिर २०७५, बिहीबार १७:२९












