१५ आश्विन २०८१, मंगलवार | Wed Oct 2 2024

नुवाकोटका प्रेमबहादुर २३ वर्षपछि पक्राउ

२२ फागुन, काठमाडौँ । प्रहरीले २३ वर्षपछि हत्याका आरोपीलाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ का प्रेमबहादुर तामाङ रहेका छन् । एक जना हत्या गरी फरार रहेका प्रेमबहादुरलाई २३ वर्षपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले  पक्राउ गरेको एसपी होबिन्‍द्र बोगटीले जानकारी दिए।

प्रेमबहादुरमाथि २०५७ माघ १६ गते साबिक ध्याङफेदी गाविस वडा नम्बर ३ मा मख्खु भन्ने छेवाङ तामाङको हत्या गरेको आरोप छ।आफन्तको घरमा साे रात घेवा मान्न जाँदा नाँचगान गर्नेक्रममा प्रेमबहादुरले छेवाङमाथि खुकुरी प्रहार गरी हत्या गरेका थिए।

त्यस दिन दिउँसो छेवाङ र स्थानीय छट्टु तामाङबीच भएको झगडाको विषयलाई लिएर प्रेमबहादुरले छेवाङको हत्‍या गरेको प्रहरीले जनाएको छ। हत्‍या गरेर फरार रहेका प्रेमबहादुरलाई प्रहरीले काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ माकलबारीबाट पक्राउ गरेको हो। थप कारबाहीका लागि उनलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटमा पठाइएकाे छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलवार १४:४४