स्यानिटरी प्याडमा भ्रष्टाचारः शहीदनगरका तत्कालीन मेयरसहित ९ जनाविरुद्ध मुद्दा दायर
२० फागुन, काठमाडौं । सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको शहीदनगर नगरपालिकाका पूर्वमेयर उदयकुमार यादवसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७७/०७८ मा स्यानेटरी प्याड खरिद गर्दा सार्वजनिक खरिद ऐन नियमावलीको पालना नगरेको तथा गुणस्तरयुक्त नभएको सामग्री खरिद गरी भ्रष्टाचार गरेको भन्दै उनीहरूविरूद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेकाे हाे ।
अख्तियारले स्यानिटरी प्याड खरिदमा १३ लाख ९३ हजार ६८७ रुपैयाँ राज्यकोषमा हानी भएको भन्दै त्यति नै बिगो कायम गरेर भ्रष्टाचार मुद्दा दायर गरेको छ । रेजा ट्रेडिङ प्रालिसँग स्यानिटरी प्याड खरिद सम्झौता गर्नुअघि नै रकम भुक्तानी गरेको, शिलबन्दी दरभाउपत्र आह्वानको सूचनामा स्यानिटरी प्याडको संख्या नखुलेको तर सम्झौता हुनुअघि नै रेजा ट्रेडिङले स्यानिटरी प्याड आपूर्ति गरेको देखिएको अख्तियारले जनाएकाे छ ।
शिलबन्दी दरभाउ पत्र आह्वानको सूचना प्रकाशित भएको भनिएको २०७७ माघ २२ को राष्ट्रिय दैनिक रेजा टुडे पत्रिकामा शहीदनगर नगरपालिकाको कुनै पनि सूचना प्रकाशित भएको नदेखिएकाले रेजा ट्रेडिङ्ग प्रालिका प्रोपराइटर एवं राष्ट्रिय दैनिक रेजा टुडे पत्रिकाका प्रकाशकसँगको मिलेमतोमा खरिद कानूनको प्रावधान विपरीत झुट्टा विवरण एवं सूचना तयार गरी गलत कागजातहरूको आधारमा बदनियतपूर्ण ढंगले खरिद सम्झौता गरी १३ लाख ९३ हजार ६८७ रुपैयाँ भुक्तानी गरिएको हो ।
अख्तियारले तत्कालीन उपप्रमुख शिलादेवी कापर, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शत्रुघ्न यादव, लेखापाल लोकबहादुर नेपाली, स्वास्थ्य संयोजक कपिलदेव अधिकारी, श्री माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक श्रीकृष्ण भिनवार, सव-इन्जिनीयर सरोज कुमार महतो र रेजा ट्रेडिङ्ग प्रालि धनुषाका प्रोपराइटर एवम् राष्ट्रिय दैनिक रेजा टुडे पत्रिकाका प्रकाशक अकवर मन्सुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
प्रकाशित मिति : 17:34









